कागेश्वरी मनहरामा माइक्रोबसको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु, टायर बालेर स्थानीयको प्रदर्शन

कागेश्वरी मनहरामा माइक्रोबसको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु, टायर बालेर स्थानीयको प्रदर्शन
तस्बिर- आरुष आचार्य/उकेरा

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४, डाँछीस्थित बागधारा चोकमा माइक्रोबसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले टायर बालेर र सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार बागमती प्रदेश ०१ ००२ ज ९५८८ नम्बरको माइक्रोबसको ठक्करबाट ७० वर्षीय शंकरप्रसाद कुइँकेल गम्भीर घाइते भएका थिए।

घाइते कुइँकेललाई तत्काल उपचारका लागि जोरपाटीस्थित शंकरापुर अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा दिउँसो ३:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी थापाले जानकारी दिए।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयवासी र मृतकका आफन्तले बागधारा चोकमा टायर बालेर तथा सडकमा बाँसका तगारो हालेर यातायात सेवा पूर्ण रूपमा ठप्प पारेका छन्। उनीहरूले दोषी चालकमाथि कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन्।

स्थिति तनावग्रस्त बनेपछि उक्त क्षेत्रमा दङ्गा नियन्त्रण प्रहरी परिचालन गरिएको छ।

प्रवक्ता थापाका अनुसार प्रदर्शनकारीसँग वार्ता गरी सडक अवरोध खुलाउने र स्थिति सामान्य बनाउने प्रयास भइरहेको बताएका छन्। दुर्घटना गराउने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

साउन २८, २०८३ बिहीबार १८:२२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।