जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठलाई दिइएको थुनुवा पूर्जीमा के छ?

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठलाई दिइएको थुनुवा पूर्जीमा के छ?

काठमाडौं : जनआस्था साप्ताहिक र अनलाइनका अध्यक्ष किशोर श्रेष्ठ बुधवार बेलुका पक्राउ परे। प्रहरीले उनलाई ललितपुरमा रहेको उनको घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ। श्रेष्ठ यस अगाडि पनि धरपकडको प्रयास भएको भन्दै केही समय अर्ध भूमिगत बसेका थिए। उनी बुधवार भने घरबाटै पक्राउ परे।

प्रहरीले उनलाई दिएको थुनुवा पूर्जी उकेराले फेला पारेको छ।  पूर्जीमा उनलाई दीपिका सिंहको जाहेरीले सरकार वादी र श्रेष्ठ प्रतिवादी भएको वैयक्तिक गोपनीयता सम्बन्धी कसुर मुद्दामा पक्राउ गरेर हिरासतमा राख्नु पर्ने भएको उल्लेख गरिएको छ।

दुई दिन अगाडि सिंहको फेसबुक पेजमा एक निजात्मक तस्बिर सार्वजनिक भएको थियो। रास्वपाको सांसदसँग जोडिएको सो तस्बिरलाई आधार बनाएर जनआस्थामा समाचार प्रकाशित भएको थियो। त्यसपछि सिंहले फेसबुक पेजमा भिडियो राखेर सो तस्बिर नक्कली भएको दाबी गर्दै त्यसलाई भाइरल नबनाउन आग्रह गर्दै जो जसले सो तस्बिर सेयर गर्छन् उनीहरू विरुद्ध साइबर ब्युरोमा उजुरी दिने चेतावनी दिएकी थिइन्।

यस अगाडि सामाजिक सञ्जालबाट सार्वजनिक भएको यस्ता विषयमा साइबर क्राइमको जाहेरी पर्ने गरेको थियो। तर श्रेष्ठ विरुद्ध भने साइबर क्राइममा नभई वैयक्तिक गोपनीयताको विषयमा जाहेरी परेको खुल्यो। त्यसमा पनि प्रकाशित समाचारबारे कोही कसैको आपत्ति वा खण्डन भए सो विषय सम्बन्धित मिडियामा पठाउने, खण्डन वा आफ्नो धारणा प्रकाशित नभई प्रेस काउन्सिल नेपालमा उजुरी दिने र काउन्सिलको उजुरीमा चित्त नबुझे जिल्ला अदालतमा मानहानिको मुद्दा लिएर जाने कानुनी अभ्यास रहँदै आएको थियो।

प्रकाशित समाचारको विषय हो भने त्यसमा अध्यक्ष नभई सम्पादक जोडिने गरेका छन्। जनआस्थाको सम्पादक राजेन्द्रप्रसाद रिमाल छन्। उनी पक्राउ परेका छैनन्। प्रवन्ध सम्पादकमा राजेन्द्र स्थापित छन्।

तर श्रेष्ठको हकमा भने यी कुनै पनि प्रक्रिया पुरा भएको देखिँदैन। परेको जाहेरीको विवरण सार्वजनिक नभएकाले त्यसमा समाचार लेखेर वैयक्तिक गोपनीयता हनन गरेको दाबी गरिएको छ वा अन्य भन्ने विषय खुलेको छैन।

साउन २८, २०८३ बिहीबार ००:०१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।