प्रियंकाको ‘मास्टर्नी’मा ‘गुराँस फुल्दा’ राखिएपछि सुस्मिता केसीको असन्तुष्टि- 'सुगन्ध अभिनय गर्न सकिँदैन'

प्रियंकाको ‘मास्टर्नी’मा ‘गुराँस फुल्दा’ राखिएपछि सुस्मिता केसीको असन्तुष्टि- 'सुगन्ध अभिनय गर्न सकिँदैन'

काठमाडौं : करिब २५ वर्षअघि प्रदर्शनमा आएको फिल्म 'सुपरस्टार'मा समावेश लोकप्रिय गीत ‘गुराँस फुल्दा बनै रमाइलो’ आज पनि धेरै नेपाली दर्शक–स्रोताको स्मृतिमा ताजै छ। स्कुल तथा कलेजका सांस्कृतिक कार्यक्रममा समेत पटक–पटक गुञ्जिने यो गीतमा अभिनेत्री सुस्मिता केसीले अभिनय गरेकी थिइन्।

सोही गीतलाई अभिनेत्री प्रियंका कार्कीले ‘रि–क्रिएट’ गर्दै आफ्नो निर्माण रहेको फिल्म मास्टर्नीमा समावेश गरेपछि भने सुस्मिता केसीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन्। उनले कवितात्मक शैलीमा लामो स्टाटस लेख्दै कलाकार, प्रस्तुति र दृश्य फेरिए पनि दर्शकको मनमा बस्ने मौलिक छाप कहिल्यै नमेटिने उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, "कलाकार फेरिन सक्छ, प्रस्तुति फेरिन सक्छ, दृश्य फेरिन सक्छ तर दर्शकको मनमा वर्षौँदेखि बसेको मौलिक छाप कहिल्यै फेरिँदैन। फूल फुलाउने प्रयास धेरैले गर्न सक्छन् तर वर्षौँ बितिसक्दा पनि दर्शकको मनमा उही सुगन्ध, उही भावना र उही जादू छोड्ने सौभाग्य सबै गुराँसलाई कहाँ मिल्छ र? सायद त्यसैले केही सिर्जना केवल ‘गीत’ हुँदैनन्।"

उनले नयाँ आवरण र प्रस्तुति दिन सकिए पनि मौलिक जादूलाई उही रूपमा पुनः जन्माउन नसकिने समेत लेखेकी छन्। 

उनी थप लेख्छिन्, "गुराँस फुल्दा बनै रमाइलो थियो। त्यो गुराँस केवल फुलेको थिएन। दर्शकको मनमा बसेको थियो। नयाँ आवरण दिन सकिन्छ। नयाँ प्रस्तुति दिन सकिन्छ। तर मौलिक जादूलाई फेरि उही रूपमा जन्माउन सकिँदैन। किनकि फूल देखाउन सकिन्छ तर सुगन्ध अभिनय गर्न सकिँदैन।"

वि.सं. २०५८ मा रिलिज भएको ‘सुपरस्टार’को यो चर्चित गीतमा भुवन केसी र सुस्मिता केसीको अभिनय थियो। भिडियोमा सुस्मिताको नृत्यलाई दर्शकले निकै मन पराएका थिए। दयाराम दाहालको शब्द र सचिन सिंहको संगीतमा तयार भएको उक्त गीतमा भारतीय गायिका साधना सरगमको स्वर रहेको थियो। 

२५ वर्षपछि यही गीतलाई प्रियंका कार्कीको निर्माण रहेको फिल्म मास्टर्नीमा नयाँ स्वरूपमा प्रस्तुत गरिएको हो। संगीतकार वसन्त सापकोटाले ‘रि–क्रिएट’ गरेको गीतमा मेलिना राईको स्वर रहेको छ। गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउतले नृत्य गरेका छन् भने कोरियोग्राफी गम्भीर विष्टको रहेको छ।

यो गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया आएका छन्। कमेन्टमा कतिपय दर्शकले मौलिक गीतसँग रि–क्रिएटको तुलना गरेका छन् भने केहीले प्रियंकाको अर्को प्रमोसनल गीतलाई लिएर व्यङ्ग्यसमेत गरेका छन्।

साउन २७, २०८३ बुधबार १८:२७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।