पत्रकार किशोर श्रेष्ठको पक्राउबारे प्रेस काउन्सिलले भन्यो : ‘समाचारमा चित्त नबुझे काउन्सिलमा उजुरी दिनुस्’
काठमाडौं : प्रेस काउन्सिल नेपालले पत्रकार किशोर श्रेष्ठ पक्राउ र उनी अध्यक्ष रहेको जनआस्था मिडियाको कार्यालय र निजी निवासमा छापा मारेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी काउन्सिलले सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरेर कम्प्युटर लगायतका सामग्री जफत गरिएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ।
नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने प्रेसको मर्यादा कायम राख्न आग्रह गरिएको छ। सञ्चार माध्यम र पत्रकारका लागि जारी आचारसंहिता पालना गराउन काउन्सिल क्रियाशील रहेको उल्लेख गर्दै काउन्सिलले समाचारका विषयमा असहमति भए काउन्सिलमा उजुरी दिन आग्रह गरेको छ।
"प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्दछ," विज्ञप्तिमा अगाडि भनिएको छ, "कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षमा विनम्र अनुरोध गर्दछ।"
साथै पत्रकार र सञ्चारकर्मीहरूको कार्यशैली र पेसागत आचरणप्रति चिन्ता व्यक्त गर्दै काउन्सिलले प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दतातर्फ सचेत हुन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, "सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिनेतर्फ सजगता अपनाउनै पर्दछ।"
काउन्सिलले पत्रकार आचारसंहिता उल्लंघन गर्नेमाथि नियमअनुसार कारबाही गर्ने, लोककल्याणकारी विज्ञापन रोक्ने, प्रेस पास निलम्बनका लागि सिफारिस गर्ने र अवज्ञाकारीको सूचीमा राख्नेसम्मको अधिकार आफूमा निहित रहेको समेत भनेको छ।

साउन २८, २०८३ बिहीबार १६:१७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।