स्वदेश फर्किएपछि देउवाको सन्देश : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू सत्ता र शक्तिको अभिलाषाले नभई राष्ट्रिय एकता सुदृढ गर्ने संकल्पसहित स्वदेश फर्किएको बताएका छन्।
स्वास्थ्य उपचारपछि स्वदेश फर्किए लगत्तै बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्रतिशोधको राजनीति त्यागेर मेलमिलापको मार्ग रोज्नुपर्नेमा जोड दिए। गत भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा राख्दै उनले कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताए।
परिवर्तनको अर्थ विगतको संघर्ष र योगदानलाई नकार्नु नभएको भन्दै उनले आफ्नो पुस्ताले लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न समुदायको अधिकारका लागि गरेको संघर्षलाई सम्मान गर्नुपर्ने बताए।
वर्तमान सरकारले जनतामा देखिएको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै देउवाले राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर जनताको चाहना पूरा गर्न सरकार अघि बढ्नुपर्ने बताए।
कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेस एकताबद्ध भई अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गरेर राष्ट्रियता र लोकतन्त्र सुदृढ गर्नुपर्ने धारणा राखे।
वर्तमान संविधान नेपालीको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसको संरक्षण तथा संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताए। युवा पुस्ता अघि बढ्नुपर्ने तर पाका र अनुभवी पुस्तालाई पूर्ण रूपमा खराब देखाउने भाष्य उचित नभएको देउवाले बताएका छन्।
आफ्नो लामो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उनले उल्लेख गरे। देउवाले अन्त्यमा आफू ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको’ बताए। देउवाले आफ्नो स्वास्थ्यबारे चासो राख्ने, चिन्ता गर्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरे।
साउन २८, २०८३ बिहीबार १४:४५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।