शिवम् सिमेन्टको बिक्री आम्दानी घट्यो, नाफा भने ७८ करोडमाथि
काठमाडौं : शिवम् सिमेन्टले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आवको सोही अवधिको ७९ करोड ८१ लाख रुपैयाँको तुलनामा यो नाफा १.७२ प्रतिशतले मात्र कम हो। बिक्री आम्दानी घट्दा नाफा सामान्य घटेको हो।
कम्पनीको बिक्री आम्दानी ७ अर्ब ७६ करोड रुपैयाँबाट घटेर ६ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ। निर्माण क्षेत्रको सुस्त गतिविधि तथा बजार मागमा आएको कमीका कारण बिक्री प्रभावित भएको देखिन्छ ।
बिक्री घटेसँगै कम्पनीको कुल नाफा पनि खुम्चिएको छ। अघिल्लो आवमा १ अर्ब ७२ करोड रुपैयाँ रहेको कुल नाफा घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ। यद्यपि कम्पनीले अन्य आम्दानीतर्फ १३ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ, जसले नाफालाई केही हदसम्म ठूलो गिरावट हुनबाट जोगाएको छ।
समीक्षा अवधिमा कम्पनीले सञ्चालन खर्च नियन्त्रणमा राख्न सफल भएको छ। अघिल्लो आवमा ९३ करोड १६ लाख रुपैयाँ रहेको खर्च घटेर ८० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ। खर्च कटौतीका कारण बिक्री आम्दानीमा आएको गिरावटको असर नाफामा धेरै नपरेको देखिएको छ।
वित्तीय अवस्थातर्फ हेर्दा कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व २ अर्ब ३० करोड रुपैयाँ रहेको छ। यसले कम्पनीको अल्पकालीन दायित्व वहन गर्ने क्षमता सन्तोषजनक रहेको संकेत गर्छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ०३ पैसा कायम भएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३ रुपैयाँ ७१ पैसा तथा तरलता अनुपात १.६४ गुणा रहेको कम्पनीले जनाएको छ।
बिक्री आम्दानी र ग्रस प्रफिटमा गिरावट आए पनि खर्च नियन्त्रण र अन्य आम्दानीको सहयोगले कम्पनीले नाफालाई स्थिर राख्न सफल भएको देखिन्छ। निर्माण तथा पूर्वाधार क्षेत्रमा माग सुधार भएसँगै आगामी दिनमा कम्पनीको वित्तीय प्रदर्शनमा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।
साउन २८, २०८३ बिहीबार ११:३७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।