टाटाको ‘पञ्च ईभी’ देशभर एकसाथ सार्वजनिक, सुरुवाती मूल्य कति?
काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतिक्षित नयाँ विद्युतीय गाडी ‘पञ्च ईभी’ देशभरका आधिकारिक सोरुमहरूबाट एकैपटक सार्वजनिक गरेको छ।
भृकुटीमण्डपमा जारी ‘‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा सार्वजनिक भएसँगै यो गाडी पूर्वको बिर्तामोडदेखि पश्चिमको धनगढीसम्मका सबै डिलरहरूबाट एकसाथ लन्च गरिएको कम्पनीले जनाएको छ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, अटो सो अवधिभर बुकिङ गर्ने ग्राहकले भने विशेष छुटसहित ३२ लाख ९९ हजार रुपैयाँमै यो गाडी खरिद गर्न सक्नेछन्।
साथै, यही अवधिमा गाडी बुकिङ गर्नेलाई ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको 'विस्तारित वारेन्टी' सुविधासमेत दिइएको छ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जङ्ग सिजापतिले पञ्च ईभीप्रति नेपाली ग्राहकको उत्साहजनक आकर्षण देखिएको बताए।
‘सुरुवाती प्रतिक्रिया र बुकिङले हामीलाई निकै उत्साहित बनाएको छ। बुकिङ भएका सबै गाडीहरू केही दिनभित्रै ग्राहकलाई डेलिभरी दिनेछौँ’, उनले भने।
पञ्च ईभी टाटाको नयाँ ‘एक्टिभ डट ईभी’ प्लेटफर्ममा बनेको कम्प्याक्ट एसयूभी हो, जसले सुरक्षा, डिजाइन र प्रविधिलाई प्राथमिकतामा राखेको कम्पनीको दाबी छ।
साउन २८, २०८३ बिहीबार १०:०९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।