‘काममा जान्छु’ भन्दै हिँडेका पुरुष छिमेकीको आँगनमा मृत भेटिएपछि...
मकवानपुर : जिल्लाको मकवानपुरको भीमफेदी गाउँपालिका-८, ईपामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ५५ वर्षीय कुमाले सार्की छिमेकीको आँगनमा मृत भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार, सार्की साउन २७ गते दिउँसो ४ बजेतिर ‘काममा जान्छु’ भन्दै घरबाट निस्किएका थिए।
तर, साँझ साढे ६ बजेतिर आफ्नो घरबाट करिब एक किलोमिटर पश्चिममा पर्ने स्थानीय रामहरी लामिछानेको घरको आँगनमा उनी उत्तानो परेको अवस्थामा मृत भेटिएका थिए।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट इन्स्पेक्टर सनम मल्लको कमान्डमा ‘सिन अफ क्राइम अफिसर’ सहित ४ जनाको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शरीरमा कुनै पनि बाहिरी घाउचोट देखिएको छैन। यद्यपि, मृतकले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।
राति ११:२५ बजे घटनास्थलको मुचुल्का सम्पन्न गरी पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको छ। साउन २८ गते बिहान २:२० बजे शव हेटौँडा अस्पताल पुर्याइएको र हाल पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।
पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको यकिन कारण खुल्ने र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
साउन २८, २०८३ बिहीबार ०९:५४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।