पत्रकार श्रेष्ठको रिहाइका लागि महासंघले प्रहरी कार्यालय अगाडि धर्ना दिँदै

पत्रकार श्रेष्ठको रिहाइका लागि महासंघले प्रहरी कार्यालय अगाडि धर्ना दिँदै

काठमाडौं : पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले नौ बजेबाट जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि धर्ना दिँदैछ।

महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै सो धर्ना कार्यक्रम राखिएको हो।

पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार बेलुका वैयक्तीक गोपनियता हनन गरेको जाहेरी परेको भन्दै पक्राउ गरेर हिरासतमा राखेको छ।

दिउँसै जाहेरी परे पनि उनलाई साँझ अत्यावश्यक पक्राउ पूर्जीको आधारमा ललितपुरबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो।

श्रेष्ठ अध्यक्ष रहेको जनआस्थाले केही दिन अगाडि रास्वपाका एक सांसद र एक युवतीबीचको निजात्मक तस्बिरसहित समाचार प्रकाशित गरेको थियो। सो तस्बिर सम्बन्धित युवतीको फेसबुक पेजबाटै सार्वजनिक भएको थियो।

तर पछि ती युवतीले सो तस्बिर फेक भएको दाबी गरेकी थिइन्। तर पछि उनले पत्रकार श्रेष्ठविरुद्ध जाहेरी दिएकी थिइन्।

समाचारको विषयमा सम्बन्धित पक्षको आपत्ति भए प्रारम्भमा खण्डन पठाउने, प्रेस काउन्सिल नेपालमा उजुरी दिने र काउन्सिलको कारबाही चित्त नबुझे अदालतमा मुद्दा दायर गर्न पाउने कानुनी प्रावधान रहेको छ।

जनआस्था साप्ताहिकमा प्रकाशित समाचारको विषयमा उपसभामुख रुवी कुमारीले खण्डन र कारबाहीको माग गर्दै काउन्सिलमा उजुरी दिएको खुलेको छ।

तर अर्को समाचारको विषयमा भने प्रहरीले सिधै जाहेरी लिएर श्रेष्ठलाई पक्राउ गरेको थियो। श्रेष्ठलाई बुधबार पक्राउ गरेपछि मध्यरातमा प्रहरीले उनको घरमा खानतलासी लिएको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले बताएकी थिइन्।

पत्रकार श्रेष्ठ आबद्ध जनआस्थाले रास्वपा नेतृत्वको सरकारका संलग्न र सांसदहरुबारे आलोचनात्मक समाचार प्रकाशित गर्दै आएको छ।

साउन २८, २०८३ बिहीबार ०९:०१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।