बुटवलका २५ वटा स्पामा प्रहरीको छापा, अमर्यादित गतिविधि गरेको आरोपमा १२ जना पक्राउ

बुटवलका २५ वटा स्पामा प्रहरीको छापा, अमर्यादित गतिविधि गरेको आरोपमा १२ जना पक्राउ

बुटवल : स्पा तथा मसाज सेन्टरको आवरणमा गैरकानुनी र अमर्यादित गतिविधि भइरहेको सूचना पाएपछि प्रहरीले बुटवल र तिलोत्तमा क्षेत्रका २५ वटा स्पामा एकैपटक छापा मारेको छ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुधबार गरेको आकस्मिक अनुगमनका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा सात महिला र पाँच पुरुष गरी १२ जनालाई पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिए।

‘हामीले नियन्त्रणमा लिएकाहरूसँग सोधपुछ गरिरहेका छौँ, अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा कानुनबमोजिम कारबाही अघि बढाउँछौँ’, उनले भने।

पछिल्लो समय बुटवल र तिलोत्तमा क्षेत्रमा सञ्चालित केही स्पामा मर्यादाविपरीतका गतिविधि हुने गरेको जनगुनासो र सूचना प्रहरीसम्म पुगेको थियो।

सोही सूचनाका आधारमा प्रहरीले केही समयदेखि निगरानी बढाएको थियो र बुधबार एकैसाथ २५ वटा स्पामा अनुगमन गरेको हो।

अनुगमनका क्रममा प्रहरीले व्यवसाय दर्ताको अवस्था, सेवाग्राहीको अभिलेख र त्यहाँ भइरहेका गतिविधिबारे सूक्ष्म निरीक्षण गरेको थियो। प्रक्रिया नपुर्याई सञ्चालनमा रहेका केही स्पा सञ्चालकलाई सचेत गराइएको प्रहरीले जनाएको छ।

भारतीय नागरिकको आउजाउ बढेपछि कडाइ
विशेषगरी सीमावर्ती क्षेत्रबाट बुटवल र तिलोत्तमाका स्पामा भारतीय नागरिकसमेत आउने गरेको पाइएको छ।

यसलाई मध्यनजर गर्दै प्रहरीले सेवाग्राहीको पहिचान खुल्ने विवरण (रेकर्ड) अनिवार्य राख्न सञ्चालकहरूलाई कडा निर्देशन दिएको छ।

डिएसपी श्रीवास्तवका अनुसार, भारतीय नागरिकको हकमा आधिकारिक परिचयपत्रको विवरण र नेपाली सेवाग्राहीको हकमा नाम, ठेगानालगायत आवश्यक अभिलेख स्पष्ट रूपमा राख्न भनिएको छ।

प्रहरीले स्पा तथा मसाज सेन्टरहरूलाई कानुनी र व्यावसायिक मर्यादाभित्र रहेर मात्र सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ। व्यवसायको आवरणमा गैरकानुनी र विकृत गतिविधि गरेको पाइए कडा कारबाही गरिने चेतावनी प्रहरीको छ।

बुटवल र आसपासका क्षेत्रमा स्पा सेन्टरहरूको सङ्ख्या बढ्दै गएसँगै विकृति पनि बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै आगामी दिनमा पनि निगरानी र अनुगमनलाई निरन्तरता दिइने इप्रका बुटवलले जनाएको छ।

साउन २८, २०८३ बिहीबार ०८:०२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।