रोल्पामा पहिरोले गोठसहितको घर पुरिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

रोल्पामा पहिरोले गोठसहितको घर पुरिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते
फाइल तस्बिर

रोल्पा : अविरल वर्षासँगै आएको पहिरोले घर र गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, पहिरोमा परी थबाङ गाउँपालिका-५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको ज्यान गएको हो।

त्यसैगरी, पहिरोमा पुरिएर सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्।

साउन २७ गते दिउँसोदेखि परेको लगातारको वर्षाका कारण खसेको पहिरोले उनीहरूका घर र गोठ पुरेको थियो।

घटनाको जानकारी पाएलगत्तै गएराति नै घटनास्थल पुगेको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। उनीहरूलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको र दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार पहिरोबाट त्यस क्षेत्रका ६ वटा घरगोठमा क्षति पुगेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

साउन २८, २०८३ बिहीबार ०७:१०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।