एसीसी प्रिमियर कप : संशोधित तालिका सार्वजनिक, नेपालले पहिलो खेल बहराइनसँग खेल्ने

एसीसी प्रिमियर कप : संशोधित तालिका सार्वजनिक, नेपालले पहिलो खेल बहराइनसँग खेल्ने

काठमाडौं : एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले मलेसियामा आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म आयोजना हुने एसीसी प्रिमियर कपको खेल तालिकामा फेरबदल गरेको छ।

एसिया कपको छनोटको रूपमा रहेको १० टोली सहभागी प्रतियोगिताको संशोधित तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल बहराइनसँग खेल्नेछ।

प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह 'ए' मा आयोजक मलेसिया, बहराइन, साउदी अरेबिया र हङकङ रहेका छन्। त्यस्तै, समूह 'बी' मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, सिंगापुर, कुवेत र कतार समावेश छन्।  

एसीसीले सार्वजनिक गरेको नयाँ तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट ३१मा बहराइनसँग खेल्नेछ।

 दोस्रो खेल ३ सेप्टेम्बरमा मलेसिया, तेस्रो खेल ६ सेप्टेम्बरमा साउदी अरेबिया र अन्तिम खेल ८ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ। 

प्रतियोगिताको दुवै समूहबाट शीर्ष दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरू सेप्टेम्बर १० (मा हुनेछन् भने तेस्रो स्थानको खेल सेप्टेम्बर १२ मा हुनेछ।

सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपका लागि यस प्रतियोगिताको शीर्ष टोलीले मात्र सोझै स्थान बनाउने एसीसीले जनाएको छ।

 प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।  

नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इसान पाण्डे, गुल्सनकुमार झा, शेर मल्ल, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

साउन २७, २०८३ बुधबार १७:३८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।