नाइमा मोबिलिटी एक्स्पोमा टाटाका नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक
काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले भने विशेष अफरअन्तर्गत पञ्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
एक्स्पोमा यी दुवै विद्युतीय गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराउने जनाएको छ।
कम्पनीले विद्युतीय सवारीसाधनको बिक्रीसँगै चार्जिङ तथा सर्भिस पूर्वाधार विस्तारमा समेत जोड दिँदै आएको जनाएको छ। सिप्रदीका अनुसार हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।
३२ र ४० किलोवाट–घण्टा ब्याट्री विकल्पमा पञ्च ईभी
नयाँ पञ्च ईभी अत्याधुनिक ‘एक्ट.इभि’ प्लेटफर्ममा आधारित रहेको कम्पनीले जनाएको छ। यसमा ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। नेपालमा गरिएको परीक्षणअनुसार पूर्ण चार्जमा यसले ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने दाबी कम्पनीको छ।
पञ्च ईभीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सिडससी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफलगायतका सुविधा छन्।
त्यस्तै, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस पनि यसमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन तथा आकर्षक रङ विकल्प दिइएको छ। गाडीमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्यागलगायतका सुविधा उपलब्ध छन्।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउने कम्पनीको प्रतिबद्धताअनुसार नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक गरिएको बताए। उनका अनुसार दुवै गाडी फरक–फरक ग्राहकका आवश्यकता पूरा गर्नेगरी विकास गरिएका छन्।
त्यसैगरी, सिप्रदीका चीफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले ईभीको प्रयोगलाई सहज बनाउन मजबुत पूर्वाधार निर्माणमा जोड दिइएको जानकारी दिए।
हाल सिप्रदीले देशभर २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी फास्ट चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालन गरिरहेको छ।
साउन २७, २०८३ बुधबार १५:५५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।