थाई गाँजा तस्करीको नयाँ शैली खुलासा, विमानस्थलबाट १८ किलो गाँजासहित दुई भारतीय पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोग्राम थाईल्याण्डको गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आगमन भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारतको पञ्जाब ठेगाना भएका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्।
साउन २६ गते राति ‘क्याथे प्यासिफिक’को उडानमार्फत थाइल्यान्डको बैंककबाट हङकङ हुँदै नेपाल आएका उनीहरूले गाँजा लुकाइएको लगेज आगमनतर्फको भन्सार एरियामा छाडेर भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।
यसरी हुन्थ्यो तस्करी
प्रहरी अनुसन्धानका क्रममा थाइल्यान्डबाट गाँजा ल्याउने तस्करहरूले पक्राउबाट बच्न नयाँ तरिका अपनाउने गरेको खुलासा भएको छ।
विमानस्थल ओर्लिएपछि प्रहरीको पक्राउबाट जोगिन भन्सार क्षेत्रमै गाँजा भरिएको लगेज छाडेर बाहिरिने र केही दिनपछि नेपाली एजेन्टमार्फत क्लेम गराएर लैजाने योजना उनीहरूले बनाएको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका प्रतिवादीहरूको साथबाट १८ किलो थाईल्याण्डको गाँजा, २ थान पासपोर्ट, २ थान मोबाइल र ४ वटा झोला बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिए।
साउन २७, २०८३ बुधबार १३:१९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।