मोन्ट्रा इलेक्ट्रिकको ‘सुपर अटो’ नेपालमा सार्वजनिक, मूल्य रु ८ लाख ६४ हजार ९ सय
काठमाडौं : भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा ‘सुपर अटो’ (इलेक्ट्रिक थ्री-ह्विलर) सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले उक्त यात्रुवाहक ई-थ्री ह्विलरको औपचारिक बिक्री-वितरणको शुभारम्भ गरे।
नेपालका लागि हिप्को ट्रेडिङ प्रालि यसको आधिकारिक वितरक रहेको छ।
नेपालको भौगोलिक बनावट र उकालो बाटोलाई ध्यानमा राखेर तयार पारिएको यस अटोमा ९ किलोवाटआवरको ब्याट्री र पीएमएसएम मोटर प्रयोग गरिएको छ। यसले सेगमेन्टमै उत्कृष्ट ६० एनएम टर्क र ३२ प्रतिशत ग्रेडेबिलिटी (उकालो चढ्ने क्षमता) प्रदान गर्छ।
यसमा हिल-होल्ड असिस्ट, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र विभिन्न ड्राइभ मोडहरू रहेका छन्।
एकपटकको पूर्ण चार्ज (४.५ घण्टा) मा यसले १५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिन्छ भने यसको अधिकतम गति ५५ किमी प्रतिघण्टा रहेको छ। नेपाली बजारका लागि यसको मूल्य रु ८ लाख ६४ हजार ९०० तोकिएको छ।
नेपालमा उत्पादित जलविद्युत्को उपभोग बढाउन र आयातित इन्धनमाथिको निर्भरता घटाउन यो सवारीसाधन प्रभावकारी हुने कम्पनीको विश्वास छ।
हिप्को ट्रेडिङका निर्देशक हिमांशु गोल्छा र मोन्ट्रा इलेक्ट्रिकका अध्यक्ष अरुण मुरुगप्पनले यो साझेदारीले नेपालको दिगो र स्वच्छ यातायात क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
देशभरका डिलर तथा सर्भिस नेटवर्कमार्फत यसको बिक्री, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराइनेछ।
साउन २७, २०८३ बुधबार १३:०६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।