नाइमा अटो एक्स्पोमा ‘डोङफेङ’का २८ सिटे विद्युतीय बस सार्वजनिक, पहिलो ५० बुकिङमा ५ लाख छुट

नाइमा अटो एक्स्पोमा ‘डोङफेङ’का २८ सिटे विद्युतीय बस सार्वजनिक, पहिलो ५० बुकिङमा ५ लाख छुट

काठमाडौं : हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले भृकुटीमण्डपमा जारी ‘नाइमा अटो एक्स्पो’ मा चीनको बहुप्रतिष्ठित ब्रान्ड ‘डोङफेङ’का विद्युतीय बसहरू सार्वजनिक गरेको छ।

कम्पनीले एक्स्पोमार्फत ७.२ मिटर लम्बाइ भएका दुईवटा विद्युतीय बसका मोडलहरू नेपाली बजारमा प्रस्तुत गरेको हो।

सार्वजनिक गरिएका मोडलहरूमा २५+१ सिट क्षमताको ‘कम्फर्ट बस’ र २७+१ सिट क्षमताको ‘सिटी बस’ रहेका छन्। यी बसहरूको सुरुवाती मूल्य रु १ करोड १४ लाख ५० हजार तोकिएको छ।

एक्स्पोको अवसर पारेर पहिलो ५० जना बुकिङकर्ता ग्राहकहरूलाई कम्पनीले रु ५ लाख विशेष छुटको व्यवस्था गरेको छ।

यी बसहरूमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ। ग्राहकले चाहेमा थप ३ वर्षको विस्तारित वारेन्टीसमेत खरिद गर्न सक्नेछन्।

हाल सार्वजनिक गरिएका बसहरू नन-एसी भए पनि ग्राहकको मागअनुसार एयर कन्डिसनर र लक्जरी सिट थप गर्न सकिने सुविधा छ।

त्यसैगरी, ग्राहकको आवश्यकताअनुसार बसमा १ वा २ वटा ढोका जडान गर्न सकिनेछ। दुईवटा ढोका राख्दा सिट संख्या २ वटा घट्ने कम्पनीले जनाएको छ।

ठूला ईभी बसको मागलाई सम्बोधन
नेपाल सरकारले ठूला विद्युतीय बसहरूलाई प्राथमिकता दिने नीति लिएको र बजारमा पनि यस्ता बसहरूको माग बढेकाले डोङफेङका बसहरू नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ।

सन् १९६९ मा स्थापित चीन सरकारको स्वामित्वमा रहेको डोङफेङका सवारी साधनहरू विश्वका १०० भन्दा बढी देशहरूमा निर्यात हुँदै आएका छन्।

यसअघि भारतको ‘फोर्स मोटर्स’ र चीनको एसएआईसी ग्रुपअन्तर्गतको ‘म्याक्सस’का सवारी साधन बिक्री गर्दै आएको हिमालयन अर्गनाइजेसनले डोङफेङ ब्रान्डका बसले नेपाली बजारमा नयाँ उचाइ लिने विश्वास व्यक्त गरेको छ।

कम्पनीले निकट भविष्यमै ७.२ मिटरको स्कुल बस, ९ मिटरको ३८ सिटे बस र १२ मिटरको ५२ सिटे ठूला विद्युतीय बसहरू पनि नेपाल ल्याउने घोषणा गरेको छ।

यी बसहरू बजारमा उपलब्ध अन्य ब्रान्डका बसभन्दा निकै प्रतिस्पर्धी र कम मूल्यमा सार्वजनिक गरिने कम्पनीको दाबी छ।

बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्सका लागि हिमालयन अर्गनाइजेसनले नेपालभर रहेका आफ्ना शाखा तथा डिलर सञ्जालमार्फत सेवा प्रदान गर्ने जनाएको छ।

साउन २७, २०८३ बुधबार १२:५९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।