चितवनमा मर्निङ वाकमा निस्किएका वृद्धको बाघको आक्रमणबाट मृत्यु, ५ वटा हात्तीको घेरा हाली बाघ नियन्त्रणमा
चितवन : चितवनको भरतपुर महानगरपालिका-२८ मा मर्निङ वाकमा निस्किएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर-२८ जितपुरका ६५ वर्षीय मंगले बोटे रहेका छन्।
प्रहरीका अनुसार, शनिबार बिहान करिब ५ बजेतिर मंगले बोटे स्थानीय ५५ वर्षीय जीवन बोटेसँगै मर्निङ वाकमा निस्किएका थिए। भरतपुर-२८ स्थित साँग्रिला होटल नजिकै पुग्दा जीवन बोटे पिसाब फेर्न भन्दै केही पछाडि रोकिए।
सोही क्रममा एक्कासी बाघ देखा परेपछि जीवन भागेर ज्यान जोगाउन सफल भए भने अगाडि रहेका मंगले बोटेलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो।
बिहान ८ बजे घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिब्यनगरबाट प्रहरी नायब निरीक्षक (सई) उमाशंकर प्रसाद यादव र इलाका प्रहरी कार्यालय चनौलीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना सापकोटाको कमान्डमा टोली खटिएको थियो।
सुरुवाती खोजीका क्रममा बाघ देखा परेको सडकदेखि करिब १०० मिटर दक्षिणमा मंगले बोटेले लगाएको कालो चप्पल फेला परेको थियो। त्यसपछि नेपाल प्रहरी, नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्जको प्रशासन टोली, स्थानीय जनप्रतिनिधि र हात्तीको प्रयोग गरी व्यापक खोजी कार्य अघि बढाइएको थियो।
यसरी फेला पर्यो शव र नियन्त्रणमा लिइयो बाघ
खोजी गर्दै जाने क्रममा दिउँसो १२:४५ बजे चप्पल फेला परेको स्थानबाट करिब ४-५ किलोमिटर पूर्वतर्फ बाघ बसिरहेको र त्यहीँ मानिसको खुट्टा जस्तो देखिएको थियो। त्यसलगत्तै निकुञ्जका ५ वटा हात्तीको प्रयोग गरी बाघलाई घेरा हालिएको थियो।
राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको समन्वयमा निरन्तरको प्रयासपछि दिउँसो ४:१५ बजे बाघलाई नियन्त्रणमा (डार्ट गरेर) लिन सफलता मिलेको थियो। बाघ नियन्त्रणमा लिएको ५ मिनेटपछि (४:२० बजे) राप्ती हरियाली सामुदायिक वनभित्र बेपत्ता मंगले बोटेको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो।
प्रहरीका अनुसार बाघले कम्मरभन्दा तलको भाग खाइसकेको अवस्थामा शव भेटिएको थियो भने एउटा खुट्टा छुट्टिएको अवस्थामा थियो। घटनास्थलमै मृतकका छोराले शवको पहिचान गरेका थिए।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी राति ८:३५ बजे शवलाई पोस्टमार्टमका लागि सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
साउन २७, २०८३ बुधबार १०:३९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।