एनसेलले ल्यायो नेपाली मुद्रामै डोमेन दर्ता र वेब होस्टिङ गर्न सकिने सुविधा, दुईथरी प्याकेज
काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक वेब होस्टिङ र डोमेन दर्ता गर्न सकिने ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ।
स्टार्टअप, उद्यमी र व्यावसायिक संस्थाहरूलाई लक्षित गर्दै ल्याइएको यो प्लेटफर्ममा नेपालभित्रै डेटा सुरक्षित रहने (डेटा लोकलाइजेसन) सुविधा छ।
यस सेवाको सुरुवातसँगै अब विदेशी मुद्रा (डलर) तिरेर अन्तर्राष्ट्रिय होस्टिङ सेवा लिनुपर्ने बाध्यता हट्ने र नेपाली मुद्रामै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
यस प्लेटफर्ममार्फत ग्राहकले डोमेन दर्ता, नवीकरण, वेबसाइट होस्टिङ र सुरक्षासम्बन्धी सेवा एकै ठाउँबाट पाउनेछन्। एनसेलले हाल यो सेवालाई दुईवटा प्याकेजमा ल्याएको छ।
मासिक १ हजार रुपैयाँको बेसिक प्याकेजमा ३ जीबी स्टोरेज, व्यावसायिक इमेल, एसएसएल (SSL) सुरक्षा र स्वचालित ब्याकअप सुविधा पाइन्छ।
त्यसैगरी मासिक २ हजार रुपैयाँको प्रो प्याकेजमा बढी स्टोरेज, २० वटासम्म व्यावसायिक इमेल, १० वटा डेटाबेस र ५ वटासम्म सबडोमेनको सुविधा छ।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले यो सेवाले नेपाली व्यवसायलाई डिजिटल रूपान्तरणमा मद्दत पुर्याउने र देशभित्रै डेटा सुरक्षित राखेर नियामक दायरा पूरा गर्न सघाउने बताएका छन्।
साउन २७, २०८३ बुधबार १०:०३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।