मध्यरातमा बाढीको बितण्डा : ९७ वर्षीया वृद्धालाई केराको थाममा राखेर यसरी बचाइयो
एजेन्सी : जुलाई १९ को मध्यरात। भारतको उत्तरपूर्वी राज्य असमको एउटा गाउँमा एक्कासी बाढी पस्यो।
रातको अन्धकार र उर्लंदो पानीको भेल। ४० वर्षीया बोर्नाली बरुवा र उनका श्रीमानलाई एउटै मात्र चिन्ता थियो- आफ्नी ९७ वर्षीया आमाको ज्यान कसरी जोगाउने?
आमा ओछ्यान परेकी थिइन्, हिँडडुल गर्न सक्दिनथिन्। बाहिर पानीको सतह बढिरहेको थियो। न उद्धार टोली थियो, न कुनै डुंगा, न त गुहार माग्न छिमेकी नै।
उनीहरूले एउटा जुक्ति निकाले। केराका थामहरू काटे र त्यसलाई बाँधेर एउटा अस्थायी डुंगा बनाए। त्यही डुंगामा वृद्धा आमालाई राखेर उनीहरू सुरक्षित स्थानतर्फ अघि बढे।

‘त्यसबेला सबैलाई आफ्नै ज्यान कसरी जोगाउने भन्ने हतारो थियो’, बोर्नाली सम्झिन्छिन्।
बाटोमा ३-४ फिटसम्म पानी थियो। पानीको बहावका कारण उनीहरूले एकअर्काको हात समातेर र लौरो टेक्दै बिस्तारै पाइला चाल्नुपरेको थियो। करिब एक घण्टाको संघर्षपछि उनीहरू राजमार्गमा रहेको एउटा क्याम्पमा पुग्न सफल भए।
त्यतिबेलासम्म उनीहरूको घर बाढीमा डुबिसकेको थियो। घरभित्र करिब ५ फिटसम्म पानी पसेको थियो।
पहिले कहिल्यै नआएको बाढी
यो घटना असमको शिवसागर जिल्लाअन्तर्गत पर्ने चरिङ गाउँको हो।
असममा अहिले बाढीले भयानक रूप लिएको छ। यो समाचार तयार पार्दासम्म बाढीका कारण १०० जनाको ज्यान गइसकेको छ भने २५ जिल्लाका करिब १२ लाख मानिस प्रभावित भएका छन्।
तर, चरिङ गाउँका लागि यो बाढी एउटा ठूलो झट्का थियो। किनकि, यहाँ सामान्यतया बाढी आउँदैनथ्यो।

‘हाम्रो जीवनकालमा हामीले यस क्षेत्रमा बाढी आएको देखेको यो पहिलो पटक हो’, जन्मिएदेखि नै यही गाउँमा बसेकी बोर्नाली भन्छिन्। उनले सन् १९५० को दशकमा ठूलो बाढी आएको कथा सुनेकी थिइन्, तर आफूले कहिल्यै यस्तो विपद् भोगेकी थिइनन्।
उनको घर वरिपरि नदीहरू त छन्, तर कुनै पनि नदी घरकै छेउमा छैनन्। ब्रह्मपुत्र नदी करिब २० किलोमिटर टाढा छ भने अन्य साना नदीहरू पनि ५ देखि १२ किलोमिटरको दूरीमा छन्। त्यसैले पानी आफ्नै दैलोमा आइपुग्छ भन्ने उनले कल्पना पनि गरेकी थिइनन्।
बगेको सपना र पशुपालन
बाढीले बोर्नालीको घर मात्र डुबाएन, उनले वर्षौं लगाएर बुनेको सपना र रोजीरोटी पनि बगायो।
कुनै समय पूर्णकालीन पत्रकार रहेकी बोर्नालीले सन् २०१६ मा पत्रकारिता छाडेर पशुपालन सुरु गरेकी थिइन्। उनको मिहिनेत यति राम्रो थियो कि तीन वर्षपछि नै उनले असमको ‘उत्कृष्ट पशुपालक किसान’को अवार्ड पाएकी थिइन्।
उनको खोरमा करिब ३०० बाख्रा, ५०० हाँस र एक हजार कुखुरा थिए, साथै माछापालन पनि थियो। तर, बाढीले धेरैजसो पशुपन्छी मारिदियो। दाना बनाउने मेसिन, फर्निचर, ल्यापटप र किताबको ठूलो संग्रह सबै पानीमा नष्ट भए। पशुपालनको कुनै बिमा नभएकाले उनले सबै नोक्सानी आफैंले व्यहोर्नुपर्यो।

बाढीपछि बोर्नालीको परिवारले १० दिनसम्म राहत शिविरमा बितायो। सुरुका ५ दिन त शिविरमा न बिजुली थियो, न मोबाइलको नेटवर्क नै। तर, त्यो दुःखको बेला केही अपरिचित मानिसहरू देवदूत बनेर आए। उनीहरूले खाना दिए र बोर्नालीका बाँचेका ६० वटा बाख्राको हेरचाह र उपचारमा सघाए।
किन पस्यो त गाउँमा बाढी?
गुवाहाटी विश्वविद्यालयका भूगोलका प्राध्यापक ध्रुबज्योति सहरियाका अनुसार, ब्रह्मपुत्र उपत्यकामा बाढी आउनु प्राकृतिक कुरा हो। तर, अहिले बाढी आउने क्रम, यसको तीव्रता र प्रकृति पूरै फेरिएको छ।
ब्रह्मपुत्र नदीले तिब्बतबाटै ठूलो मात्रामा बालुवा र माटो बगाएर ल्याउँछ। जब नदी समथर भूभागमा आइपुग्छ, पानीको गति कम हुन्छ र त्यो बालुवा थुप्रिन्छ। यसले गर्दा नदीको सतह बढ्छ र बाढी आउँछ।
त्यसमाथि लगातारको भारी वर्षा, वनविनाश, जथाभावी सडक तथा पुल निर्माण र खोलाको प्राकृतिक बहावलाई ध्यान नदिई बनाइएका संरचनाले गर्दा पहिले बाढी नआउने ठाउँमा पनि अहिले पानी पस्न थालेको छ।

बाढीसँगै बाँच्ने अठोट
बोर्नाली अहिले आफ्नो घर नजिकै छिमेकीको आश्रयमा छिन्। पानी सुकेपछि आफ्नै भत्किएको घरमा फर्कने उनको योजना छ। उनी यो गाउँ छाडेर अन्यत्र जाने पक्षमा छैनन्। बरु उनी अब बाढीसँग जुध्न तयारी गर्दैछिन्।
‘फेरि ठूलो पानी पर्यो भने घरको जग अझै अग्लो बनाउनुपर्छ, सुरक्षित बस्ने मञ्च बनाउनुपर्छ र खाना तथा पिउने पानी पहिल्यै जम्मा गरेर राख्नुपर्छ’, उनी भन्छिन्।
के उनी आफूलाई जलवायु परिवर्तनले विस्थापित बनाएको ‘जलवायु शरणार्थी’ मान्छिन् त?

उनी मुस्कुराउँदै भन्छिन्, ‘होइन। हामीले आफ्नो आर्थिक र मानसिक बल फिर्ता ल्यायौं भने जिन्दगी पुरानै लयमा फर्किन्छ। अब हामीले बाढीसँगै बाँच्न सिक्नुपर्छ।’
साउन २७, २०८३ बुधबार ०७:५७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।