इरानको धम्कीपछि जहाज फेर्दै लुकिलुकी अमेरिका फर्किए ट्रम्प

इरानको धम्कीपछि जहाज फेर्दै लुकिलुकी अमेरिका फर्किए ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित सुरक्षा खतराका कारण गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेका छन्।

गुप्तचर तथा सुरक्षा निकायको निर्देशनमा आफूले पूर्वघोषित राष्ट्रपतीय विमान छाडेर सैन्य विमान प्रयोग गरेको ट्रम्पले स्वीकार गरेका हुन्।  

ट्रम्पले मंगलबार ओहायोमा एयर फोर्स वनभित्र पत्रकारहरूसँग कुरा गर्दै आफूले सुरक्षा अधिकारीहरूको निर्देशन पालना गर्नुपर्ने बताए। उनले भने, “म गोप्य सुरक्षा सेवा र सेनाको निर्देशनअनुसार चल्छु। उनीहरूले मलाई फरक उडान, फरक विमानमा जान भने। मैले उनीहरूले भनेको गर्नुपर्छ।”

गत ८ जुलाईमा टर्कीको अंकारा विमानस्थलमा टेलिभिजन क्यामेरामा  ट्रम्प एयर फोर्स वनमा चढेको देखिएपनि पछि गोप्य रूपमा बाहिर ओरालेर एउटा क्याटरिङ ट्रकमार्फत अर्को सैन्य विमानमा सारिएको रिपोर्ट सार्वजनिक भएपछि उनको यो भनाइ आएको हो।

कसरी अर्को विमानमा सारिए ट्रम्प

ट्रम्पले टर्की जाने क्रममा कतारले अमेरिकालाई उपलब्ध गराएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग गरेका थिए। तर टर्की पुगेपछि उनले 'पुरानो समय सम्झन' भन्दै पुरानै 'एयर फोर्स वन' बाट फर्किने घोषणा गरे।

जुलाई ८ मा सार्वजनिक भिडियो फुटेजमा टर्कीको अङ्कारा विमानस्थलमा ट्रम्प राष्ट्रपतीय विमान 'एयर फोर्स वान' मा चढेको देखिएका थिए। तर वासिङ्टन पोस्टका अनुसार उनी विमानमा चढेको केही बेरमै विमानको पछाडि जोडिएको विमानस्थलको 'क्याटरिङ ट्रक' मा लुकेर गोप्य रूपमा ओर्लिएका थिए।

उक्त क्याटरिङ ट्रक विमानको उचाइसम्म उठाएर ढोकासम्म पुर्याइएको थियो। त्यसपछि ट्रम्पलाई सोही क्याटरिङ ट्रकमार्फत बाहिर निकालेर अर्को सानो सैन्य विमान सी–३२ एमा सारियो थियो।

सी–३२ ए बोइङ ७५७ मा आधारित विशेष सैन्य विमान हो, जुन प्रायः अमेरिकी उपराष्ट्रपतिले प्रयोग गर्ने गर्छन्।

उडानलाई सामान्य देखाउन अमेरिकी रक्षामन्त्री पेट हेगसेथ बाहिरी सिँढी प्रयोग गरी बेग्लै तरिकाले सोही सी–३२ ए विमानमा चढेका थिए।  

ट्रम्प सी–३२ एबाट बेलायततर्फ गएका थिए। त्यसपछि उनी बेलायत हुँदै अमेरिका फर्किने क्रममा फेरि पुरानो एयर फोर्स वनमा चढेका थिए। उनी आरएएफ मिल्डेनहलमा विमान अवतरण गर्दा पुरानो एयर फोर्स वनबाट ओर्लिएको दृश्य सार्वजनिक भएको थियो।

तर सी–३२ बाट उनी कसरी पुरानो एयर फोर्स वनमा पुगे भन्ने कुरा भने अझै स्पष्ट छैन। त्यसपछि ट्रम्पले कतारले उपलब्ध गराएको नयाँ एयर फोर्स वनमा सरेर वासिङ्टन फर्किएका थिए।

पत्रकार र ह्वाइट हाउस कर्मचारी नै बेखबर

राष्ट्रपति ट्रम्प अर्कै विमानमा सारिएको खबर विमानमा रहेका पत्रकार तथा ह्वाइट हाउसका केही कर्मचारीलाई समेत थाहा थिएन। उनीहरू राष्ट्रपति पनि त्यही विमानमा रहेको ठानिरहेका थिए।

'एयर फोर्स वान' मा रहेका सञ्चारकर्मीहरूलाई झ्यालको पर्दा बन्द गर्न निर्देशन दिइएको थियो। विमानमा रहेका ह्वाइट हाउस प्रेस पूलका एक निर्माता (मिडिया पूल प्रोड्युसर) ले झ्यालका पर्दा बन्द गर्न लगाइएको विषय असामान्य लागेको बताएका छन्।

ह्वाइट हाउस करस्पोन्डेन्ट्स एसोसिएसनको प्रतिवेदनअनुसार उडानका क्रममा पर्दा बन्द गराइनु असामान्य थियो। एक फोटोग्राफरले केही समयका लागि झ्यालको पर्दा खोलेपछि उनलाई तत्कालै फेरि बन्द गर्न भनिएको पनि रिपोर्टमा उल्लेख छ।

एसोसिएसनको रिपोर्टमा विमान वरपर दुईवटा क्याटरिङ ट्रक राखिएका थिए। साथै, पत्रकारहरू विमानमा पुग्दा तीमध्ये एउटा विमानको अगाडिको तथा अर्को पछाडिको भागमा रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, विमानस्थलमा पत्रकारहरूको मिडिया भ्यान ट्रम्पको मोटरकेडभन्दा निकै पछाडि परेको थियो। त्यसका कारण पत्रकारहरूले ट्रम्प विमानमा चढेको तस्बिर लिनसमेत सकेनन्।

एयर फोर्स वानको वास्तविकता लुकाउन अर्को कलसाइन प्रयोग 

ट्रम्प नभएको एयर फोर्स वानले 'एएफ१' कल साइन नै प्रयोग गरिरह्यो भने ट्रम्प सवार सी–३२ ए विमानले 'रिच १८' कल साइन प्रयोग गरेको थियो। यसरी ट्रम्प मूल विमानमै रहेको भ्रम कायम राखिएको थियो।

न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति नभएको उक्त मूल विमानमा अमेरिकी क्याबिनेटका वरिष्ठ सदस्यहरू सवार थिए, जसमा विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्ट समावेश थिए।

इरानको क्षेप्यास्त्र प्रहारको सम्भावित खतरा

अमेरिकी अधिकारीहरूले बीबीसीको साझेदार संस्था सीबीएस न्युजलाई दिएको जानकारीअनुसार इरानले ट्रम्प सवार विमानमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने विश्वसनीय सूचना प्राप्त भएको थियो।

न्युयोर्क टाइम्सका अनुसार नेटो सम्मेलनस्थल नजिकै काँधमा राखेर हान्ने क्षेप्यास्त्रसहित एक व्यक्ति देखिएको गुप्तचर रिपोर्ट अमेरिकी निकायलाई प्राप्त भएको थियो।यो गुप्त अपरेसन वासिङ्टन र तेहरानबीच युद्ध अन्त्य गर्ने वार्ता भङ्ग भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य हमला सुरु गरेको भोलिपल्टको हो।

यद्यपि ट्रम्पले आफूलाई कुन प्रकारको खतरा थियो भन्नेबारे धेरै जानकारी नलिएको बताएका छन्। उनले भने, “सायद त्यहाँ खतरा थियो। मैले त्यसबारे धेरै सोधिनँ। मलाई धेरै धम्की आउँछन्।”

ट्रम्पले आफूविरुद्ध सार्वजनिक नभएका अन्य धेरै धम्कीहरू पनि रहेको दाबी गर्दै भने, “मसँग तपाईंहरूलाई थाहा नभएका धेरै धम्कीहरू छन्।”

ट्रम्पले यसअघि पनि अङ्कारा सम्मेलनका क्रममा आफू इरानको "नम्बर वान टार्गेट" रहेको बताएका थिए। 

आफूले छाडेको विमानमा रहेका यात्रुहरू जोखिममा परेका थिए कि भन्ने प्रश्नमा ट्रम्पले मङ्गलबार भने, "मेरो विचारमा म चढेको अर्को विमान झन् बढी जोखिममा हुन सक्थ्यो... किनभने उनीहरूले मुख्य रूपमा म भएकै विमानलाई निशाना बनाउने सम्भावना बढी हुन्थ्यो।"

टर्कीबाट फर्किएपछि नयाँ राष्ट्रपति विमानमा पत्रकारहरूसँग कुरा गर्दा ट्रम्पले इरानबाट आफूलाई रहेको सम्भावित खतराबारे उल्लेख गरेका थिए। तर त्यसबेला उनले आफूलाई गोप्य रूपमा अर्को विमानमा सारिएको कुरा भने बताएका थिएनन्।

पत्रकार संरक्षण समितिको आपत्ति

पत्रकारहरूको छाता संगठन 'कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स' का अमेरिका क्षेत्रीय निर्देशक होसे जामोराले विज्ञप्ति जारी गर्दै ट्रम्प प्रशासनको आलोचना गरेका छन्।

"राष्ट्रपतिको कभरेज गर्ने पत्रकारहरूलाई अनावश्यक खतरामा नपारियोस् भन्ने सुनिश्चित गर्ने जिम्मेवारी प्रशासनको हो," जामोराले भने, "गम्भीर सुरक्षा खतराहरूबारे पत्रकारहरूलाई जानकारी गराइनुपर्छ ताकि उनीहरूले आफ्नो सुरक्षाबारे सचेत निर्णय लिन सकून्।"

साउन २७, २०८३ बुधबार १३:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।