कोलम्बियामा भूकम्पमा मृतकको संख्या १८० भन्दा बढी, ७० भन्दा बढी परकम्प

कोलम्बियामा भूकम्पमा मृतकको संख्या १८० भन्दा बढी, ७० भन्दा बढी परकम्प

एजेन्सी : सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कोलम्बियामा १८० भन्दा बढीको मृत्यु भएको छ। भत्किएका भवन र भग्नावशेषमा फसेकाहरूको जीवितै उद्धार गर्न सुरक्षाकर्मी र उद्धारकर्ताहरू अहोरात्र खटिएका छन्।

राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले देशमा संकटकाल घोषणा गरेका छन्। उनका अनुसार आधिकारिक रूपमा १८१ जनाको मृत्यु भएको पुष्टि भए पनि स्थानीय अधिकारीहरूले मृतकको संख्या २४० नाघ्न सक्ने अनुमान गरेका छन्।

भूकम्पमा परी करिब २,६०० मानिस घाइते भएका छन् भने २०० जना अझै बेपत्ता छन्। १,१०० भन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् र ८,००० भन्दा बढी घरमा क्षति पुगेको छ।

काली र परेरा सहरमा सबैभन्दा बढी क्षति
पश्चिम कोलम्बियाका काली र परेरा सहर भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

२२ लाख जनसंख्या भएको काली सहरमा मात्रै ९५ जनाको ज्यान गएको छ। त्यहाँ एउटा बाल अस्पताल भत्किँदा केही बिरामीहरू च्यापिएका छन् भने एउटा विद्यालय भत्किँदा ४ जना बालबालिकाको मृत्यु भएको छ र अन्य ३० जना गम्भीर घाइते भएका छन्।

विपद्‌को बेला लुटपाट हुन नदिन सहरमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ। अझै २३९ जना भग्नावशेषमा फसेको हुनसक्ने कालीका मेयरले बताएका छन्।

त्यसैगरी, अर्को प्रभावित सहर परेरामा ७९ जनाको मृत्यु भएको छ। उद्धार कार्यलाई सहज बनाउन त्यहाँ सवारी साधन चलाउन रोक (कार-फ्री डे) लगाइएको छ। घर भत्किने डरले यी सहरका हजारौं बासिन्दाले खुला आकाशमुनि रात बिताएका छन्।

लगातार परकम्प, त्रसित जनजीवन
सोमबारको मुख्य भूकम्पपछि हालसम्म ७० भन्दा बढी परकम्प गइसकेका छन्। लगातारको परकम्पले गर्दा मानिसहरू घरभित्र पस्न डराइरहेका छन्।

५ जनाको मृत्यु भएको मानिजालेस सहरका मेयरले सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह र गलत सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

विपद्को समयमा कोलम्बियालाई अन्तर्राष्ट्रिय समुदायले सहयोगको हात बढाएका छन्।

संयुक्त राष्ट्रसंघले उद्धार तथा राहतमा सरकारलाई सहयोग गरिरहेको जनाएको छ। अमेरिकाले कोलम्बियालाई १ करोड ५५ लाख डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

यसैगरी, इक्वेडर, ब्राजिल, एल साल्भाडोर र भेनेजुएलाले पनि सहयोगको प्रस्ताव गरेका छन्। स्पेनले भने आफ्ना १६४ नागरिक सम्पर्कविहीन रहेको जनाएको छ, यद्यपि हालसम्म उनीहरू हताहत भएको कुनै खबर छैन।

साउन २७, २०८३ बुधबार ०७:१५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।