सिरियाका पूर्वराष्ट्रपति असदसहित सात उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

सिरियाका पूर्वराष्ट्रपति असदसहित सात उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

एजेन्सी : सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा सर्वसाधारणमाथि भएका अत्याचार, युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले असदको अनुपस्थितिमा मङ्गलबार यो फैसला सुनाएको हो।

डिसेम्बर २०२४ मा इस्लामवादी विद्रोही समूहको आक्रमणपछि असद सत्ताच्युत भएर रुस शरण लिन पुगेका थिए। त्यसपछि गठन भएको अन्तरिम सरकारअन्तर्गत पूर्वशासकविरुद्ध सुनाइएको यो नै पहिलो ठूलो र ऐतिहासिक कानुनी फैसला हो।

दमास्कसस्थित अदालतका न्यायाधीश फखर अल–दिन अल–आर्यनको इजलासले असदलाई विभिन्न अपराधमा दोषी ठहर गरेको हो। ती अपराधमा पूर्वनियोजित हत्या, एकभन्दा बढी व्यक्तिको जानाजान हत्या, १५ वर्षमुनिका बालबालिकाको हत्या, यातना, यातनाका कारण मृत्यु तथा गैरकानुनी रूपमा पटक–पटक स्वतन्त्रताबाट वञ्चित गर्ने कार्य छन्।

अदालतले यी कार्यलाई मानवताविरुद्धको अपराध तथा युद्ध अपराधका रूपमा वर्गीकरण गरेको छ।

सिरियाले गत अप्रिलमा असदसहित पूर्वसत्ताका अधिकारीविरुद्ध कानुनी कारबाही अघि बढाएको थियो। सन् २०११ मा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीमाथि तत्कालीन सरकारले गरेको दमनपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो।

संयुक्त राष्ट्रसङ्घ तथा अन्य निकायका अनुमानअनुसार उक्त द्वन्द्वमा पाँच लाखभन्दा बढी मानिसको मृत्यु भएको छ। लाखौँ मानिस विस्थापित भएका छन् भने हजारौँ बेपत्ता भएका छन्। तीमध्ये धेरैजसो सरकारी हिरासत तथा जेलमा बेपत्ता भएको बताइन्छ।

अदालतले असदका भाइट माहेर अल–असदसहित अन्य छ पूर्वसैन्य तथा सुरक्षा अधिकारीलाई पनि अनुपस्थितिमा मृत्युदण्ड सुनाएको छ। माहेरले सिरियाली सेनाको शक्तिशाली चौथो डिभिजनको नेतृत्व गरेका थिए। उनी पनि भागेर देशबाहिर पुगेका छन्।

दोषी ठहर हुने अन्यमा पूर्वरक्षामन्त्री फहद अल–फ्रेज र सन् २०११ मा दारा प्रान्तको सैन्य गुप्तचर निकायका प्रमुख रहेका लुए अल–अली छन्।

अदालतले उनीहरूलाई हत्या, हत्याका लागि उक्साउने, मृत्यु हुने गरी यातना दिने तथा पटक–पटक गैरकानुनी रूपमा स्वतन्त्रताबाट वञ्चित गर्ने अपराधमा दोषी ठहर गरेको छ। यी कार्यलाई पनि मानवताविरुद्धको अपराध तथा युद्ध अपराधका रूपमा वर्गीकरण गरिएको छ।

पूर्वसुरक्षा अधिकारी आतिफ नजिबलाई पनि मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएको छ। सन् २०११ मा जनविद्रोह सुरु भएको दारा प्रान्तमा राजनीतिक सुरक्षा प्रमुख रहेका नजिबलाई गत वर्ष जनवरीमा पक्राउ गरिएको थियो।

नजिब असदका नातेदारसमेत हुन्। अदालतले उनलाई हत्या, १५ वर्षमुनिका बालबालिकाको जानाजान हत्या तथा मृत्यु हुने गरी यातना दिएको अभियोगमा दोषी ठहर गरेको हो।

सन् २०११ को मार्चमा दारामा १५ जना विद्यार्थीलाई सरकारविरोधी नारा लेखेको आरोपमा पक्राउ गरेपछि सिरियामा जनविद्रोह सुरु भएको थियो। स्थानीय बासिन्दाका अनुसार विद्यार्थीलाई यातना दिइएपछि उनीहरूको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको थियो।

सुरक्षाकर्मीले प्रदर्शन दबाउन बल प्रयोग गरेपछि आन्दोलन देशका अन्य भागमा पनि फैलिएको थियो। त्यसपछि नजिबलाई पदबाट हटाइएको थियो।

न्यायाधीश आर्यनका अनुसार नजिबले आफूमाथिका आरोप अस्वीकार गरेका थिए। तर, उनले आफ्नाकार्यप्रति कुनै पश्चात्तापसमेत व्यक्त गरेका थिएनन्।

असदले आफ्ना पिता हाफेज अल–असदको निधनपछि सन् २००० मा सिरियाको राष्ट्रपतिको पद सम्हालेका थिए।

साउन २६, २०८३ मंगलबार १८:३१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।