दिल्लीको विद्यार्थी आन्दोलनमा कम्तीमा १० जनालाई ‘पेलेट गन’को छर्रा लागेको खुलासा

दिल्लीको विद्यार्थी आन्दोलनमा कम्तीमा १० जनालाई ‘पेलेट गन’को छर्रा लागेको खुलासा

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा गत जुलाई २० मा भएको विद्यार्थी प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रयोग गरेको छर्रा हान्ने बन्दुक अर्थात पेलेट गनबाट कम्तीमा १० जना घाइते भएको खुलासा भएको छ।

सूचनाको हक अन्तर्गत प्राप्त पछिल्लो आधिकारिक तथ्यांकले यसअघि सार्वजनिक भएको भन्दा घाइतेको संख्या दोब्बर देखाएको हो।

यसअघि पेलेट गनबाट ५ जना घाइते भएको रिपोर्ट आएको थियो। तर, तृणमूल कांग्रेस दलका पूर्वसांसद साकेत गोखलेले दर्ता गराएको आरटीआईको जवाफमा अस्पतालहरूले घाइतेको संख्या धेरै रहेको पुष्टि गरेका छन्।

लेडी हार्डिङ मेडिकल कलेजले दिएको जवाफ अनुसार त्यहाँ भर्ना भएका घाइतेमध्ये ९ जनालाई पेलेट गनको छर्रा लागेको थियो। उक्त अस्पतालमा ३५ प्रहरी र ४६ प्रदर्शनकारी गरी कुल ८१ जनाको उपचार भएको थियो।

यस्तै, सफदरजंग अस्पतालले १ जनालाई पैलेट गनको चोट लागेको जनाएको छ। एम्स र राम मनोहर लोहिया अस्पतालबाट आरटीआईको जवाफ आउन बाँकी रहेकाले घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रदर्शनका क्रममा पैलेट गन प्रयोग भएको खबरलाई दिल्ली प्रहरी र भारत सरकारको ‘प्रेस इन्फर्मेसन ब्युरो’(पीआईबी) ले झूटो र अफवाह भन्दै अस्वीकार गरेका थिए।

तर, जुलाई २२ मा पार्लियामेन्ट स्ट्रिट प्रहरी कार्यालयमा दर्ता भएको ‘जनरल डायरी’मा र्यापिड एक्सन फोर्सले ‘एन्टि-रायट गन’ बाट दुई राउन्ड फायर गरेको स्वीकार गरिएको छ।

शिक्षा मन्त्रीको राजीनामा माग्दै भएको थियो प्रदर्शन
ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा विद्यार्थीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै संसद् भवनतर्फ मार्च गरेका थिए। सो क्रममा प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग र लाठीचार्ज गरेका थिए।

भारतीय सञ्चारमाध्यम द वायरका अनुसार पैलेट गनका कारण २४ वर्षीय इरशाद मन्सुरी गम्भीर घाइते भएका छन्।

गुरुग्रामका बासिन्दा मन्सुरीको अनुहार र गर्धनमा छर्रा लागेपछि ३ घण्टा लामो शल्यक्रिया गरिएको छ। शल्यक्रियाका क्रममा उनको आँखाको दृष्टि गुम्न सक्ने जोखिम रहेको र त्यसको जिम्मेवारी डाक्टरले नलिने कागजमा परिवारलाई हस्ताक्षर गराइएको छ।

अस्पतालको आरटीआई जवाफ सामाजिक सञ्जाल 'एक्स'मा सेयर गर्दै पूर्वसांसद साकेत गोखलेले सरकार र प्रहरीको नियतमाथि प्रश्न उठाएका छन्।

‘राजधानीकै बीचमा निहत्था प्रदर्शनकारीमाथि पैलेट गन चलाइन्छ, प्रहरीले पहिले अस्वीकार गर्छ र पछि घाइतेको संख्या पनि लुकाउँछ, यो कस्तो लोकतन्त्र हो?’, उनले प्रश्न गरेका छन्।

उनले केन्द्रीय गृहमन्त्री अमित शाहले प्रहरी र केन्द्रीय एजेन्सीहरूलाई आफ्नो व्यक्तिगत माफिया जसरी प्रयोग गरेको आरोप लगाउँदै गृहमन्त्री शाहको तत्काल राजीनामा माग गरेका छन्।

साउन २७, २०८३ बुधबार १३:४२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।