नाइमा मोबिलिटी एक्स्पोमा अटो लोनको प्रतिस्पर्धा, कुन बैंकको कति छ बेस रेट ?
काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु भएसँगै बैंकहरुले विशेष छुटमा अटो लोनको प्रस्ताव गरेका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भइरहेको प्रदर्शनीमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधनहरू राखिएका छन्।
एक्स्पोको मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताका लागि बैंकहरूले विशेष छुट तथा सहुलियतपूर्ण ब्याजदरमा सवारी कर्जाको अफरहरू ल्याएका छन्। यस एक्स्पोका लागि ग्लोबल आईएमई बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंकले आधिकारिक वित्तीय साझेदार छन्।
ग्लोबल आईएमई बैंकले एक्स्पोमा बुकिङ हुने वा खरिद हुने गाडीका लागि आधार दर (बेस रेट) मा ०.५ प्रतिशत विन्दु थपेर ५.२५ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था गरेको छ। बैंकको हालको आधार दर ४.७५ प्रतिशत रहेको छ।
एनएमबि बैंकबाट ऋण लिँदा ५.६८ प्रतिशत ब्याज तिर्नुपर्छ। बैंकले आधार दर (५.१८ प्रतिशत) मा ०.५ प्रतिशत विन्दु थपेर यो सुविधा ल्याएको हो। सिद्धार्थ बैंकले आधार दरमा न्यूनतम १ प्रतिशत विन्दुले ब्याजदर थप्ने व्यवस्था गरेको छ। असार मसान्तमा ५.१३ प्रतिशत आधार दर रहेको बैंकले यस अनुसार ६.१३ प्रतिशतमा कर्जा प्रवाह गर्नेछ।
अन्य वाणिज्य बैंकहरूको पछिल्लो तीन महिनाको औसत आधार दर (बेस रेट) ४.२१ देखि ५.९८सम्म रहेको छ।
एभरेस्ट बैंकको ४.३८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.८३,कृषि विकास बैंकको ४.९४, कुमारी बैंकको ५.२७ प्रतिशत, सिटिजन्स बैंकको ५.२ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ४.२१ प्रतिशत, नेपाल बैंकको ४.५९ प्रतिशत, नबिल बैंकको ४.५३ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४.७५ प्रतिशत रहेको छ।
यसैगरि नेपाल एसबिआई बैंकको ५.२८ प्रतिशत, प्रभु बैंकको ५.०७ प्रतिशत, प्राइम बैंकको ५.१८, प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.२२ प्रतिशत बेस रेट रहेको छ।
यसैगरि, सानिमा बैंकको ४.९९ प्रतिशत, सिद्धार्थ बैंकको ५.१३ प्रतिशत, माछापुच्छ्रे बैंकको ५.०८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.१६ प्रतिशत, हिमालयन बैंक: ५.३९ प्रतिशत, एनआईसी एसिया बैंकको ६.०४ प्रतिशत र एनएमबि बैंकको ५.१८ प्रतिशत बेस रेट रहेको छ।
साउन २६, २०८३ मंगलबार २०:२८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।