बीवाईडीका अपग्रेड गरिएका तीन मोडल नाइमा एक्स्पोमा सार्वजनिक

बीवाईडीका अपग्रेड गरिएका तीन मोडल नाइमा एक्स्पोमा सार्वजनिक

काठमाडौं : बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मार्फत एट्टो सिरिजको न्यु जेनेरेसन संस्करणहरू सार्वजनिक गरेको छ। 

साइमेक्सले आफ्ना इलेक्ट्रिक एसयूभी लाइनअप अन्तर्गत एट्टो १, एट्टो २ र एट्टो ३ का अपडेटेड मोडलहरू बजारमा ल्याएको हो। नयाँ संस्करणका यी गाडीहरूमा प्रविधि, डिजाइन, आराम र सुरक्षा सुविधाहरूमा परिमार्जन गरिएको जनाइएको छ।

सन् २०२२ देखि नेपाली बजारमा उपलब्ध एट्टो ३ लाई न्यु जेनेरेसनमा थप परिष्कृत गरिएको छ। यसमा ‘डाइनामिक ड्रागन फेस डिजाइन’, रियर स्पोइलर र ‘चाइनिज नट’ टेललाइट जस्ता बाह्य विशेषता थपिएका छन्। 

गाडीको क्याबिनमा ५० वाटको अल्ट्रा-फास्ट वायरलेस चार्जर, ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र भेन्टिलेटेड सिट उपलब्ध छ। चालकको सहजताका लागि यसमा ‘कोलम-सिफ्टर’ गियर सेलेक्टर राखिएको छ। २०२६ बीवाईडी एट्टो ३ एड्भान्स्डको मूल्य ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै बीवाईडीले एट्टो २ सिरिजमा नयाँ ‘एसेन्सियल’ भेरियन्ट थप गरेको छ। ४५.१२ किलोवाट आवरको ब्याट्री जडान गरिएको यस भेरियन्टले एक पटकको फुल चार्जमा ३१२ किलोमिटर (WLTP अनुसार) रेन्ज दिने साइमेक्सको दाबी छ।

यसको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। यस्तै, ५१.१३ किलोवाट आवर ब्याट्री भएको एट्टो २ प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ, जसले ३४५ किलोमिटर रेन्ज दिन्छ।

एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा ३६० डिग्री क्यामेराको सुविधा थपिएको छ। प्रिमियम भेरियन्टमा अटो-फोल्ड ओआरभीएम (ORVM) समेत उपलब्ध गराइएको छ। नयाँ एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार र प्रिमियमको ३४ लाख ८० हजार रुपैयाँ कायम गरिएको छ।

साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा गाडी खरिद गर्नेहरुका लागि बीवाईडीले विशेष सुविधा ल्याएको छ। यसअन्तर्गत एक वर्षको नि:शुल्क इन्फोटेनमेन्ट र बीमा (अटो प्लस), १० वर्षको एक्सटेन्डेड वारेन्टी, विशेष नगद छुट र एक वर्षको नि:शुल्क सडक दस्तुर तथा एसेसरीज उपलब्ध गराइने साइमेक्सले जनाएको छ। 

साउन २६, २०८३ मंगलबार १९:०८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।