घुस प्रकरणमा चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा
काठमाडौं : घुस लिएको अभियोगमा पक्राउ परेका इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर र लेखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
पुलको रि-डिजाइन स्वीकृत गर्न र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको देखिएपछि इन्जिनियर (छैटौँ तह) डिल्ली राज खड्का र लेखा अधिकृत (आठौँ तह) मिलन कुमार भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको हो।
छ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टङ्गाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा उक्त कार्यमा लेखा अधिकृत भट्टराईको समेत मिलेमतो रहेको खुलेको थियो।
आयोगका अनुसार उनीहरूले योजनाको डिजाइन, तेस्रो पक्ष प्रमाणीकरण (थर्ड पार्टी भेरिफिकेसन) तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएबापत उक्त रकम लिएको खुल्यो। उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम छ लाख रुपैयाँ बिगो कायम गरी कैद सजायको मागदाबी गरिएको छ।
साउन २६, २०८३ मंगलबार १६:३१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।