जनताको बीचमा पुग्न हर्कको आग्रह : ‘एसीको कोठाबाट देश भेटिँदैन’

जनताको बीचमा पुग्न हर्कको आग्रह : ‘एसीको कोठाबाट देश भेटिँदैन’

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मन्त्रालयको एसी कोठाभित्र देश नभेटिने भन्दै मन्त्रीहरूलाई नागरिकको वास्तविक अवस्था बुझ्न खोलाखोल्सी, खेत र कारखानासम्म पुग्न आग्रह गरेका छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले आन्दोलनरत नागरिकका पीडा र आवाज सुन्न सरकारलाई सडकमा आउन आग्रहसमेत गरे। वर्तमान सरकार नागरिकलाई सुरक्षा, न्याय र सेवा सुविधा दिन असफल भएको राईको टिप्पणी थियो। 

प्रधानमन्त्री वालेन्द्र शाहले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै बालहठ त्यागेर संसद्प्रति जवाफदेही हुन उनले आग्रह गरे। साढे दुई महिनादेखि आफूहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन माग गरिरहे पनि आउन नमानेको भन्दै राईले प्रधानमन्त्री संसद्मा उपस्थिति हुनुपर्ने माग गरे।

राईले देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना भइरहे पनि सरकारले प्रभावकारी रूपमा कारबाही गर्न नसकेको आरोप लगाए। उनले नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने वातावरण बनाउन सरकारसँग माग गरे। 

उनले भने, "मन्त्रालयमा एसीको हावा खाँदै बसेर देश भेट्न सकिँदैन। देश भेट्नका लागि खोलाखोल्सी, खेत, कारखानामा जानुपर्यो। आन्दोलन गरिरहेका नागरिकहरूको सडकमा गएर उनीहरूको आवाज बुझ्नुपर्यो।"

ग्यासको लाइनमा घण्टौँ उभिन बाध्य नागरिकको पीडा सरकारले बुझ्नुपर्ने उनले बताए। जनताले ठूलो आशा गरेर वर्तमान सरकारलाई मत दिए पनि अपेक्षित परिवर्तन आउन नसकेको उनको भनाइ थियो।

वर्तमान अवस्थाको मुख्य कारण प्रधानमन्त्रीको लापरबाही, गैर जिम्मेवारी तथा मन्त्रीहरूसँग प्रभावकारी समन्वयको अभाव रहेको उनको आरोप छ। सरकारभित्रै असमझदारी देखिएको दाबी गर्दै उनले केटाकेटीपनबाट देश सञ्चालन हुन नसक्ने बताए।

साउन २६, २०८३ मंगलबार १४:५२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।