कांग्रेस सांसद स्वाँरको कटाक्ष : प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ, भेट्नै सकिदैन्
काठमाडौं : नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले प्रधानमन्त्री ‘कुम्भकर्णको निद्रा’मा परेको र सुदूरपश्चिमका जनतालाई अपमान गरेको आरोप लगाउँदै सीमा अतिक्रमण, भ्रष्टाचार र सर्वसाधारणले खेप्नुपरेको सास्तीबारे सरकारको मौनतामाथि प्रश्न उठाए।
भारतद्वारा मिचिएको लिम्पियाधुरा, कालापानी र सुस्ता लगायतका नेपाली भूभागका विषयमा सरकार मौन बसेको आरोप लगाउँदै उनले ‘चुच्चे नक्सा’लाई बेवास्ता गरिएको विषयमा सदनमा स्पष्ट पार्न सरकारसँग माग गरे।
"आफ्नो कार्यकक्षमा अखण्ड नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले अहिले चुच्चे नक्सा मेटाएर १०० को नोटमा छाप्न किन बाध्यकारी अवस्था आयो?" उनले प्रश्न गरे।
उनले भ्रष्टाचार नियन्त्रणका लागि सबैको सम्पत्ति छानबिन हुनुपर्ने र दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभ्याउनुपर्ने धारणा राखे। साथै, विगतका विभिन्न छानबिन समितिका प्रतिवेदनहरू तत्काल सार्वजनिक गर्न पनि उनले सरकारसँग माग गरे।
सर्वसाधारणले राहदानी, सवारी चालक अनुमतिपत्र, मालपोत, ग्यास आपूर्ति, महँगी र स्वास्थ्य बिमाजस्ता आधारभूत सेवा प्राप्त गर्न ठूलो सास्ती खेप्नुपरेको भन्दै उनले सरकार जनताका समस्याप्रति संवेदनशील नभएको आरोप लगाए।
उनले प्रधानमन्त्रीसँग भेटका लागि आफूले चैत २१ गते लिखित निवेदन दिएको भए पनि अहिलेसम्म भेट्ने अवसर नपाएको बताए।
उनले भने, "मैले भेट्ने टाइम माग्दा चैत २१ गतेबाट लिखित निवेदन उहाँका स्वकीयको हातमा थमाएको थिएँ। तर आजसम्म पनि भेट्ने मौका पाइँन। तपाईं कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू? यो समग्र सुदूरका जनता र अछामका जनतालाई माथि गरेको अपमान हो।"
स्वाँरले सुदूरपश्चिमका जनताको विकास निर्माणका समस्या राख्न आफूले प्रधानमन्त्रीसँग भेट्न खोजे पनि समय नदिइएको गुनासो गरे।
उनले भने, "समग्र सुदूरका जनताका लागि विकास निर्माणका समस्या मैले राख्न खोजेको थिएँ, समय दिनुभएन। यो सुदूरका जनतालाई देखावटी माया तपाईंको चाहिँदैन। त्यो माया फिर्ता लिनुहोस्।"
आफ्नो लामो सामाजिक र सार्वजनिक जीवनको अनुभव स्मरण गराउँदै सांसद स्वाँरले सरकारका ठूला प्रतिबद्धता र वास्तविक कामबीच कुनै मेल नरहेको बताए। उनले वर्तमान सरकारको प्रगति ‘खोदा पहाड, निक्ला चुहा’ जस्तै साबित भएको टिप्पणी गरे।
साउन २६, २०८३ मंगलबार १४:३१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।