चर्को गर्मीमा छाता ओढेर ग्यासको लाइन, बुटवल र भैरहवामा १६ सय सिलिन्डर खुला बिक्री

चर्को गर्मीमा छाता ओढेर ग्यासको लाइन, बुटवल र भैरहवामा १६ सय सिलिन्डर खुला बिक्री

बुटवल : खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि रुपन्देहीका बुटवल र भैरहवामा खुला रूपमा ग्यास वितरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम र ग्यास विक्रेता संघको समन्वयमा मंगलबार सर्वसाधारणलाई प्रत्यक्ष रूपमा ग्यास बिक्री गरिएको हो।

ग्यास विक्रेता संघ रुपन्देहीका महासचिव सूर्य खनालका अनुसार बुटवलको उपमहानगरपालिकाअगाडि रहेको बालमन्दिर र भैरहवास्थित खाद्य संस्थानबाट ८-८ सय गरी कुल १६ सय सिलिन्डर ग्यास वितरण गरिएको छ।

बुटवलमा स्वस्तिक, त्रिशूल, सिद्धार्थ, लुम्बिनी, जानकीलगायत ८ वटा कम्पनीका सिलिन्डर बिक्रीका लागि राखिएको थियो।

नागरिकता देखाएर ग्यास
ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा खाली सिलिन्डरका साथै नागरिकता वा परिचय खुल्ने कागजात देखाउनुपर्ने व्यवस्था गरिएको थियो।

कालाबजारी हुन नदिन, घरमा ग्यास मौज्दात राख्न नदिन र वास्तविक उपभोक्तासम्म मात्र पुर्याउन यो कडाइ गरिएको संघले जनाएको छ।

उद्योगहरूबाट ग्यास उत्पादन भइरहे पनि बजारमा सर्वसाधारणको अनपेक्षित भीड देखिनु अस्वाभाविक भएको व्यवसायीहरू बताउँछन्।

स्वस्तिक ग्यास उद्योगका सञ्चालक महेश पोखरेलका अनुसार पछिल्लो तीन-चार महिनादेखि आधा भरिएका सिलिन्डर वितरण हुँदै आएकोमा करिब एक महिनायता पूर्ण रूपमा भरिएका (फुल) सिलिन्डर बिक्री गर्न थालिएपछि बजारमा ग्यासको अभाव झन् बढेको हो।

ग्यास पाइने खबर पाएपछि चर्को गर्मीका बाबजुद बिहानैदेखि सर्वसाधारण छाता ओढेर खाली सिलिन्डर बोकी लाइनमा बसेका छन्।

लामो समयपछि ग्यास पाएका उपभोक्ताले केही राहत महसुस गरे पनि ग्यासको वितरणलाई मन्त्री वा सङ्घको विवेकमा भन्दा पनि बजारमा नियमित र सहज आपूर्ति गराउन माग गरेका छन्।

साउन २६, २०८३ मंगलबार १२:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।