चितवनमा घर-घरमै ग्यास पुर्‍याउँदै प्रशासन, अनावश्यक सिलिन्डर मौज्दात नराख्न आग्रह

चितवनमा घर-घरमै ग्यास पुर्‍याउँदै प्रशासन, अनावश्यक सिलिन्डर मौज्दात नराख्न आग्रह

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधारण तथा लक्षित वर्गलाई राहत पुर्याउने उद्देश्यले घर-घरमै खाना पकाउने ग्यास वितरणमा सहजीकरण गरेको छ।

ग्यासको अभाव भएको गुनासो आएपछि प्रशासनले गत एक सातामा असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थी तथा विभिन्न आश्रमहरू गरी ८०२ जनालाई घरमै ग्यास सिलिन्डर उपलब्ध गराएको हो।

प्रशासनको टोल फ्रि नम्बरमा परेका गुनासोका आधारमा भरतपुरका साथै पूर्वी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा सिलिन्डर पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

ग्यास उद्योगबाट डिपोमा पर्याप्त ग्यास पुगेको भनिए पनि सर्वसाधारण भने घन्टौँ लाइन बस्नुपर्ने बाध्यता देखिएपछि स्थानीय प्रशासनले अनुगमनलाई तीव्र बनाएको छ। उद्योग, डिपो तथा खुद्रा व्यापारीसम्मको बिक्री प्रणालीलाई चुस्त बनाउन सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको विशेष टोली बजार अनुगमनमा खटिएको छ।

चितवनमा हाल साईबाबा, बाबा र नेपाल ग्यास गरी तीनवटा प्रमुख उद्योग सञ्चालनमा छन्। बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार भारतको दुर्गापुरस्थित रिफाइनरीमा समस्या आएपछि बरौनी र पारादीपबाट ग्यास ल्याउनुपरेकाले ढुवानीमा ढिलाइ भएको हो। दुर्गापुरबाट ग्यास ल्याउन २ दिन लाग्नेमा पारादीपबाट पुग्न ४ दिन लाग्ने गरेको छ। त्यस्तै ग्याँस दिइरहेको बरौजी रिफाइनरीले समेत कम ग्याँस दिएको र माग बढेकाले समस्या भएको कालाखेतीले बताए। 

उनले भने, “केही समयलाई आधा सिलिण्डर भर्ने वा बरौजीबाट दिइने कोटा केही दिनलाई वढाउन सके समस्याको समाधान हुन्छ।”

स्थानीय प्रशासन र ग्यास व्यवसायीहरूले आम उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न र अनावश्यक रूपमा मौज्दात नराख्न आग्रह गरेका छन्। 

साउन २६, २०८३ मंगलबार ११:११:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।