सन्दीपको बलात्कार मुद्दाबाट सुरू भएर सन्दीपमै टुंगिएको रोहितको ‘स्वर्णिम अध्याय’ !

सन्दीपको बलात्कार मुद्दाबाट सुरू भएर सन्दीपमै टुंगिएको रोहितको ‘स्वर्णिम अध्याय’ !

काठमाडौं : ‘धन्यवाद रोहित! एउटा राष्ट्रको आशा बोकेर असाधारण समर्पण र दृढ संकल्पका साथ नेपालको नेतृत्व गरेकोमा... एक पटकको नेता, सधैँको नेता।’

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार बिहान आफ्नो आधिकारिक सामाजिक सञ्जालमा यी शब्दहरू लेख्दै गर्दा नेपाली क्रिकेटको एउटा ऐतिहासिक अध्यायको औपचारिक अन्त्य भएको थियो।

क्यानको यो पोस्ट रोहित पौडेलको कप्तानी खोसिएको सूचना मात्र थिएन, नेपाली क्रिकेटले भोगेको सबैभन्दा कठिन समयमा टोलीलाई सम्हाल्ने एक ‘संकटमोचक’लाई दिइएको बिदाइ पनि थियो।

सोमबार क्यानले रोहितलाई हटाएर पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) टोलीको कप्तान नियुक्त गर्यो।

यसअघि २०८३ वैशाख ४ गते नै रोहितको टी-२० कप्तानी खोसेर दीपेन्द्रसिंह ऐरीलाई जिम्मा लगाइएको थियो। चार महिनाको अन्तरालमा रोहितले दुवै फर्म्याटको नेतृत्व गुमाए।

रोहितको कप्तानी यात्रा सन्दीप लामिछानेको बलात्कार मुद्दाबाट सुरू भएको थियो। र, आज रोहितको कप्तानीबाट हटाइँदा सन्दीपले पुनरागमन गरेका छन्।

नेपाली क्रिकेटका ‘संकटमोचक’
चार वर्षअघि सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको मुद्दा दर्ता हुँदा नेपाली क्रिकेट टिम नेतृत्वविहीन मात्र भएन, ठूलो मानसिक संकटमा समेत पुग्यो।

बलात्कार मुद्दापछि क्यानले सन्दीपलाई निलम्बन गर्दै कप्तानीबाट हटायो। टोली छिन्नभिन्न हुने अवस्था थियो। त्यही संकटपूर्ण घडीमा मात्र २० वर्षीय युवा खेलाडी रोहित पौडेलको काँधमा नेपाली टोलीको नेतृत्व आइलाग्यो।

सन् २०२२ नोभेम्बर १४ मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको शृंखलाबाट कप्तानीको डेब्यु गरेका रोहितले त्यसपछि जे गरे, त्यो नेपाली क्रिकेट इतिहासको ‘स्वर्णिम युग’ बन्यो।

रोहितले नेतृत्व सम्हाल्दा आईसीसी विश्वकप लिग-२ मा नेपालको अवस्था दयनीय थियो। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नै गुम्ने खतरा थियो। मान्यता जोगाउन नेपालसामु बाँकी रहेका १२ मध्ये कम्तीमा ९ खेल जित्नुपर्ने र विश्वकप छनोटमा पुग्न ११ खेल जित्नुपर्ने समीकरण थियो।

तर, कप्तान रोहित र मुख्य प्रशिक्षक मोन्टी देसाइको रणनीतिका कारण नेपालले १२ मध्ये ११ खेल जित्दै सनसनीपूर्ण पुनरागमन गर्यो। यो चमत्कारपूर्ण प्रदर्शनले नेपालको ओडिआई स्टाटस मात्र जोगिएन, टोली जिम्बावेमा भएको विश्वकप छनोटसम्म पुग्यो।

रोहितकै कप्तानीमा नेपालले पहिलोपटक एसिया कपमा स्थान बनायो। भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका महाशक्ति राष्ट्रहरूसँग खेलेर नेपालले आफूलाई विश्व मञ्चमा प्रस्तुत गर्यो। टी-२० फर्म्याटमा पनि रोहितको नेतृत्वमा नेपालले लगातार दुई संस्करणको टी-२० विश्वकप खेल्यो।

आफ्नो करिब चार वर्षे कप्तानीको अवधिमा रोहितले ६३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेतृत्व गरे, जसमा ३१ खेलमा जित र ३० खेलमा हारको नतिजा आयो।

कप्तानीको चर्को दबाबका बीच पनि उनले ब्याटिङमा कहिल्यै सम्झौता गरेनन्। ती ६३ खेलमा उनले १ शतक र ७ अर्धशतकसहित १ हजार ५ सय रन बनाए।

तर, पछिल्लो समय क्यानडा र नेदरल्यान्ड्समा भएका लिग-२ का शृंखलाहरूमा नेपालको खराब प्रदर्शन र लगातारको हारपछि रोहितमाथि दबाब बढेको थियो।

अन्ततः गत महिना नेदरल्यान्ड्समै सम्पन्न शृंखला नै कप्तानका रूपमा उनको अन्तिम शृंखला बन्न पुग्यो।

सन्दीपको पतन, कानुनी लडाइँ र पुनरागमन
रोहितको कप्तानी यात्रा सन्दीप लामिछानेको अदालती मुद्दासँग प्रत्यक्ष जोडिएको छ। २०७९ भदौमा एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएपछि नेपाली क्रिकेट क्षेत्र नै तरङ्गित बन्यो।

प्रहरीमा उजुरी पर्दा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न विदेशमा रहेका सन्दीप स्वदेश फर्किनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे। लामो समय हिरासत र जेल जीवन बिताएका उनी पछि उच्च अदालतको आदेशमा धरौटीमा रिहा भएर मैदानमा फर्किए।

कानुनी लडाइँकै बीच काठमाडौं जिल्ला अदालतले २०८० पुस १३ गते सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्यो। त्यसको केही दिनपछि, पुस २५ गते अदालतले सजाय निर्धारण गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनायो।

यो फैसलासँगै सन्दीपको क्रिकेट करिअर सधैँका लागि सकिएको अनुमान धेरैले गरेका थिए। क्यानले उनलाई पुनः निलम्बन गर्यो।

तर, जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरे। कानुनी बहस र लामो प्रतीक्षापछि २०८१ जेठ २ गते उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दियो।

उच्च अदालतले ‘सहमतिको करणी’ वा ‘प्रमाण नपुगेको’ भन्दै निर्दोष साबित गरेपछि क्यानले तत्कालै उनीमाथिको निलम्बन फुकुवा गर्यो र उनलाई टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज पठाइयो।

सफाइको दुई वर्ष बितिसक्दा पनि सर्वोच्चमा सन्दीपविरुद्ध कुनै पनि पुनरावेदन परेको छैन।

फेरि सन्दीपको आगमन
अदालतबाट सफाइ पाएर टोलीमा फर्किएको २६ महिनापछि क्यानले सन्दीपलाई फेरि एकदिवसीय टोलीको नेतृत्व सुम्पेको छ।

जुन कानुनी र नैतिक संकटका कारण सन्दीपले आफ्नो पद गुमाएका थिए, त्यही संकटले रोहितलाई जन्माएको थियो। रोहितले त्यो संकटपूर्ण घडीमा टोलीलाई सम्हालेर सफलतामा पुर्याए।

तर, खेलकुद कहिलेकाहिँ कठोर बनिदिन्छ। हिजोको सफलताले आजको खराब लयलाई छोप्न सकेन र रोहितले पद गुमाउनुपर्यो।

अब टी-२० को कमान्ड दीपेन्द्रसिंह ऐरी र ओडिआईको कमान्ड सन्दीप लामिछानेको हातमा छ। सन्दीपका लागि यो केवल कप्तानीको पुनरागमन मात्र होइन, आफूमाथि लागेको दाग मेटाएर नेपाली क्रिकेटलाई फेरि लयमा फर्काउने अग्निपरीक्षा पनि हो।

उता, रोहितलाई कप्तानीबाट हटाइए पनि नेपाली क्रिकेट इतिहासले उनलाई सधैँ एक सफल र भरपर्दो ‘लिडर’का रूपमा सम्झिनेछ। क्यानले भनेजस्तै- ‘वान्स अ लिडर, अल्वेज अ लिडर।’

साउन २६, २०८३ मंगलबार १०:३२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।