‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि, एकैपटक सार्वजनिक गरिँदै ४४ नयाँ गाडी
काठमाडौं : अर्थतन्त्रको सुस्तीबीच अटोमोबाइल बजारलाई चलायमान बनाउने उद्देश्यसहित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरू भएको यो प्रदर्शनीलाई नेपालको अटोमोबाइल क्षेत्रको ‘कुम्भमेला’ मानिएको छ।
आगामी आइतबारसम्म चल्ने ६ दिने एक्स्पोमा ५५ वटा ब्रान्ड सहभागी हुनेछन् भने ४४ वटा नयाँ मोडलका सवारीसाधन एकैपटक लन्च गरिँदैछन्।
ईभीको दबदबा, ग्राहकलाई विशेष छुट
यस वर्षको प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी) मुख्य आकर्षण रहनेछन्। ईभीका नयाँ प्रविधिसँगै दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी र अटोमोबाइलसँग सम्बन्धित सेवाहरू एउटै छानामुनि हेर्न पाइनेछ।
विगतका तुलनामा यसपटक सहभागी ब्रान्डको सङ्ख्या बढेको छ। कम्पनीहरूले नयाँ मोडल सार्वजनिक गर्ने प्रमुख मञ्चका रूपमा एक्स्पोलाई लिएका छन्।
नयाँ गाडी किन्न चाहने उपभोक्ताका लागि यो उत्कृष्ट अवसर हुने आयोजकको दाबी छ। एक्स्पो अवधिभर विभिन्न ब्रान्डले गाडी खरिदमा विशेष छुट, एक्सचेन्ज अफर, सहज फाइनान्सिङ (ऋण) सुविधा र अन्य आकर्षक योजनाहरू ल्याएका छन्।
यसले गर्दा ग्राहकलाई एकै स्थानमा विभिन्न गाडीको तुलना गरेर आफ्नो रोजाइको सवारी छान्ने सुविधा मिल्नेछ।
साउन २६, २०८३ मंगलबार ०९:३२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।