चीनमा ‘फ्ल्यास म्यारिज’को पासो, दुलही खोज्न जाँदा सर्वस्व गुमाउँदैछन् पुरुषहरू

चीनमा ‘फ्ल्यास म्यारिज’को पासो, दुलही खोज्न जाँदा सर्वस्व गुमाउँदैछन् पुरुषहरू

एजेन्सी : ३७ वर्षीय वाङ च्वाङले जीवनमा एउटी सुयोग्य जीवनसाथी पाउने आश झन्डै मारिसकेका थिए। उमेर ढल्किँदै थियो, समाजको दबाब बढ्दै थियो। तर, एक दिन उनको नजर एउटा आकर्षक विज्ञापनमा पर्यो।

विज्ञापनले भन्थ्यो- ‘वर्षौंसम्म डेटिङ गरेर समय र पैसा खेर फाल्नु पर्दैन। हामी तपाईंलाई इमानदार, सुशील र घरबार सम्हाल्ने दुलही खोजिदिन्छौँ।’

‘म्याचमेकर’हरूले वाङलाई मीठो सपना देखाए। उनीहरूले भने, ‘कुइचौ प्रान्तका केटीहरू निकै मितव्ययी हुन्छन्। उनीहरूको परिवार गरिब हुन्छ, त्यसैले तपाईंको घरमा भित्रिएपछि उनीहरू कतै जाँदैनन्, तपाईंसँगै घरजम गरेर बस्छन्।’

वाङको मनमा एउटा सुन्दर भविष्यको चित्र कोरियो। आफ्नो जीवनसाथी भेट्ने आशमा उनी चीनको हेबेई प्रान्तस्थित आफ्नो घरबाट हजारौं किलोमिटर टाढा दक्षिण-पश्चिमी कुइचौ प्रान्तको कुइयाङ सहर पुगे।

त्यहाँ उनलाई एउटी यस्ती महिलासँग भेट गराइयो, जो वाङले सोचेजस्तै थिइन्। शान्त स्वभावकी, साधारण पहिरनमा सजिएकी। केही दिनको छोटो भेटघाटपछि वाङले उनीसँग लगनगाँठो कसे। तर, वाङको खुसी लामो समय टिकेन।

‘मेरो पूरै परिवार अहिले तहसनहस भएको छ’, वाङ भन्छन्।

३७ वर्षीय वाङ च्वाङ।

नक्कली दुलही, सक्कली ऋण
विवाहको केही महिना नबित्दै वाङको फोनमा अपरिचित नम्बरहरूबाट कल आउन थाल्यो। ती फोन कल ऋण असुली गर्नेहरूको थियो। उनकी नवविवाहिता पत्नीले उनीहरूसँग मोटो रकम ऋण लिएकी रहिछन्।

वाङको मनमा चिसो पस्यो। उनले श्रीमतीको फोन र पुराना कागजपत्र खोतल्न थाले। जब उनले सत्य थाहा पाए, उनको खुट्टाको जमिन भासियो।

एजेन्सीले सुशील र अविवाहित भनेर भिराइदिएकी ती महिलाले वाङलाई आफ्नो उमेर ढाँटेकी थिइन्। उनी पहिले डान्सबारमा काम गर्थिन्। उनी तीन पटक विवाह गरिसकेकी, तीनवटा बच्चाकी आमा र गम्भीर यौन रोग (एसटीडी) बाट सङ्क्रमित थिइन्। त्यसमाथि उनी चुर्लुम्म ऋणमा डुबेकी थिइन्।

श्रीमतीसँग यसबारे कुरा उठाउँदा उनले ठाडै सम्बन्धविच्छेदको प्रस्ताव राखिन्। तर, वाङले उनलाई दिएको ‘ब्राइड प्राइस’ (चिनियाँ परम्पराअनुसार बेहुलाले बेहुलीलाई दिने मोटो रकम) को एक पैसा पनि फिर्ता नदिने अडान कसिन्।

वाङले विवाहको मेसो मिलाइदिने एजेन्सी खोज्दै कुइयाङको त्यही अफिस पुगे, जहाँ उनले विवाहको सम्झौता गरेका थिए। तर, विडम्बना! त्यो अफिस बन्द भइसकेको थियो। सञ्चालकहरू रातोरात भागिसकेका थिए।

‘मेरो आमाबुवा मलाई नै दोष दिनुहुन्छ। मलाई निद्रा लाग्दैन, एन्जाइटीले सताएको छ। काममा पटक्कै ध्यान जाँदैन’, विवाहको नाममा करिब ५ लाख युआन गुमाएका वाङ भन्छन्।

विवाहित दुलहीसँग वाङ।

विवाहको संकट र ३ करोड ‘बढी’ पुरुष
वाङको यो नियति एउटा व्यक्तिको मात्र कथा होइन। यो चीनले वर्षौंदेखि हुर्काइरहेको जनसाङ्ख्यिक सङ्कटको चरम नतिजा हो।

दशकौंसम्म चिनियाँ कम्युनिस्ट पार्टीले लागू गरेको एक सन्तान नीति र छोरा नै चाहिने चिनियाँ समाजको पितृसत्तात्मक सोचका कारण चीनमा छोरीहरूको सङ्ख्या ह्वात्तै घट्यो। यद्यपि, सन् २०१६ मा यो नीति खारेज गरियो, तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो।

नतिजास्वरूप, आज चीनमा महिलाको तुलनामा पुरुषको सङ्ख्या ३ करोडभन्दा बढी छ। यो सङ्ख्या पूरै अस्ट्रेलियाको कूल जनसङ्ख्याभन्दा पनि धेरै हो।

महिलाको सङ्ख्या कम भएकै कारण ग्रामीण भेग वा साना सहरका ३० वर्ष नाघेका वाङजस्ता पुरुषलाई विवाह गर्न फलामको चिउरा चपाउनु सरह छ। ‘हाम्रोतिर केटाहरूका लागि नियम निकै कडा छ। बिहे गर्न आफ्नै घर, गाडी र राम्रो व्यापार हुनैपर्छ’, वाङ भन्छन्।

यसबाहेक, केटी पक्षलाई बुझाउनुपर्ने लाखौँ रुपैयाँको ‘ब्राइड प्राइस’ (दाइजो) ले पुरुषहरूलाई आर्थिक रूपमा टाट पल्टाइदिएको छ। यही बाध्यता र पुरुषहरूको इच्छाको फाइदा उठाउँदै अहिले कुइयाङजस्ता सहरमा ‘फ्ल्यास म्यारिज’ (छिट्टै विवाह गराइदिने) एजेन्सीहरूको व्यापार फस्टाएको छ।

‘ब्लाइन्ड डेट’का ती दश मिनेट
कुइयाङ शहरको एउटा व्यस्त बजारको माथिल्लो तलामा यस्ता एजेन्सीहरूका अनगिन्ती साना अफिस छन्। वाङलाई पनि त्यस्तै एउटा अफिसमा लगिएको थियो।

त्यहाँ ब्लाइन्ड डेट रुमहरू थिए। एजेन्सीका कर्मचारीको कडा निगरानीमा वाङले केही दिनभित्रै सातजना महिलासँग भेट गरे। प्रत्येक भेट मात्र ८ देखि १० मिनेटको हुन्थ्यो। उनीहरूलाई एकअर्काको फोन नम्बर साट्न वा म्यासेज गर्न कडा प्रतिबन्ध थियो, नियम तोडे जरिवाना तिर्नुपर्थ्यो।

आठौँ पटकमा वाङले ती महिलालाई भेटेका थिए, जसले उनलाई सर्वस्व लुटिन्। ‘उनी निकै साधारण पहिरनमा थिइन्, इमानदार र लजालु देखिन्थिन्’, वाङ सम्झिन्छन्। दुई-तीन दिनमै वाङले उनलाई जीवनसाथी बनाउने निर्णय गरे र एजेन्सीलाई लाखौँ रकम बुझाए।

विवाहलाई सक्कली देखाउन एजेन्सीले रेड कार्पेट ओछ्याएर, रोमान्टिक सङ्गीत बजाएर उनीहरूको व्यावसायिक फोटोसुटसमेत गराएको थियो। ती तस्बिरहरू आज वाङका लागि मुटु छेड्ने काँडा बनेका छन्।

पीडितहरूको आश्रम बनेको फ्ल्याट
वाङ अहिले कुइयाङमै एउटा सानो फ्ल्याट भाडामा लिएर बसेका छन्। उनी आफ्नो पुरानो जीवनमा फर्किन सकेका छैनन्। उनको यो फ्ल्याट अहिले आफूजस्तै ठगिएका अन्य पुरुषहरूको शरणस्थल बनेको छ। उनीहरू सँगै मिलेर ठगहरूलाई खोज्ने र प्रहरीकहाँ धाउने गर्छन्।

त्यही फ्ल्याटको झ्यालको छेउमा रहेको एउटा फोल्डिङ ओछ्यानमा बसेका छन् जियाङ्सी प्रान्तका ५९ वर्षीय सु रुलिन। उनीसँग एउटा रातो प्लास्टिकको झोला छ, जसमा उनको छोराको विवाहमा भएको ठगीका प्रमाणहरू कोचाकोच भरिएका छन्।

छोराको विवाहका लागि आएर ठगिएका ५९ वर्षीय सु रुलिन।

सु रुलिनले छोराको विवाहका लागि झन्डै ५ लाख युआन खर्चिए। कुइयाङ पुगेर ‘ब्लाइन्ड डेट’मा केटी भेटेको ७ दिनमै उनको छोराको बिहे भयो। तर, विवाह दर्ता हुनेबित्तिकै दुलहीको असली रूप बाहिर आयो।

ती दुलहीले सुरुमै आइफोन मागिन्। त्यसपछि व्यापार गर्न भन्दै २० हजार युआन र विवाहको लुगा तथा गहनाका लागि १ लाख २० हजार युआन मागिन्।

‘मैले त केवल उनी हाम्रो घरमा राम्ररी बसून् भन्ने चाहेको थिएँ। उनले छुट्टै घर मागिन्, मैले त्यो पनि किन्दिन्छु भनेँ,’ निराश हुँदै सु रुलिन भन्छन्, ‘तर, उनी हाम्रो घरमा दुई हप्ता पनि टिकिनन्। पैसा र सामान लिएर भागिन्।’

अहिले प्रहरीले ती महिला र एजेन्सीका सञ्चालकलाई पक्राउ त गरेको छ, तर सु रुलिनले आफ्नो गुमेको पैसा फिर्ता पाउन सकेका छैनन्।

कानुनी छिद्र र असहाय पुरुष
यस्ता ठगीका घटनाहरू अति नै बढेपछि चिनियाँ सरकारले यसलाई गम्भीर रूपमा लिन थालेको छ। सन् २०२४ को जनवरीदेखि एक वर्षभित्र म्याचमेकिङ क्षेत्रमा ठगी गरेको आरोपमा १५ सयभन्दा बढी व्यक्तिमाथि अनुसन्धान भइसकेको छ।

तर, एजेन्सी सञ्चालकहरू भने आफूहरूलाई निर्दोष साबित गर्न खोज्छन्। कुइयाङका एक एजेन्सी सञ्चालक भन्छन्, ‘यहाँ ९० प्रतिशत काम इमानदारीपूर्वक हुन्छ। चीनमा एउटा भनाइ छ नि, एउटा कुहिएको मुसाको दिसाले पूरै भाँडोको सुप बिगार्छ, यहाँ पनि त्यस्तै भएको हो।’

तर, कानुनका जानकारहरू यो सङ्गठित अपराध भएको मान्छन्। यद्यपि, कानुनी रूपमा यसलाई प्रमाणित गर्न निकै गाह्रो छ।

वकिल फ्यान बिङ्हो भन्छन्, ‘चीनको कानुनमा विवाहमा भएको ठगीको छुट्टै प्रावधान छैन। अभियुक्तहरूले अदालतमा गएर हामीले बिहे गरेरै घरजम गर्न खोजेका थियौँ, तर पछि विचार नमिलेर छुट्टिएका हौँ भन्ने तर्क गर्छन्। सम्बन्धका यस्ता उतारचढावलाई ठगी नै हो भनेर प्रमाणित गर्न गाह्रो हुन्छ।’

वकिल फ्यान बिङ्हो।

‘यो कहिल्यै नसकिने जस्तो लाग्छ’
वाङलाई अहिले आफैँमाथि रिस उठ्छ।

‘यस्ती केटीले यसरी हतार-हतार बिहे गर्न मान्थी र? पक्कै खोट भएरै त हो नि। म किन यति सजिलै फसेँ?’, उनी आफैँलाई प्रश्न गर्छन्।

वाङले आफ्नो पैसा फिर्ता पाउन प्रहरी कार्यालयमा घुँडा टेकेर बिन्ती गरे। उनी सरकारलाई गुहार्न बेइजिङसम्म पुगे। उनले केही रकम फिर्ता त पाए, तर उनको गुमेको शान्ति र समय कहिल्यै फर्किएन।

विवाह गर्ने उनको सपना अब सधैँका लागि मरेको छ।

‘यस्तो घटना भोगेको मान्छेले फेरि बिहे गर्छ होला र? म अब कहिल्यै बिहेको बारेमा सोच्दिनँ’, उनी भन्छन्।

आफ्नो कोठाभरि छरिएका डिभोर्सका लागि तयार पारेका कानुनी कागजपत्रहरू हेर्दै उनी लामो सास फेर्छन्।

‘दुई वर्ष बितिसक्यो, अझै उनीसँग डिभोर्स कहिले हुन्छ टुङ्गो छैन। मलाई थाहा छैन यो कहिले सकिन्छ र म कहिले सामान्य जीवनमा फर्किन्छु। यो त कहिल्यै नसकिने अनन्त जस्तो लाग्न थालिसक्यो।’

साउन २६, २०८३ मंगलबार ०९:१०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।