कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, देशव्यापी संकटकाल घोषणा
एजेन्सी : कोलम्बियामा आएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ।
भग्नावशेषमा धेरै मानिस पुरिएको आशङ्का गरिएकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। सरकारले उद्धार र राहतलाई तीव्रता दिन देशव्यापी संकटकाल (राष्ट्रिय विपद्) घोषणा गरेको छ।
कोलम्बियाली भौगर्भिक सर्भेका अनुसार सोमबार बिहान ७:३४ बजे चोको प्रान्तको सान होजे डेल पाल्मार गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
जमिनबाट १०३ किलोमिटर गहिराइमा गएको यस भूकम्पको झट्का सयौँ किलोमिटर टाढा पश्चिमी कोलम्बियादेखि छिमेकी देशहरू भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो।
अचम्मको कुरा, केन्द्रविन्दु आसपास सडकहरू भत्किए पनि मानवीय क्षति भने नभएको स्थानीय मेयरलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
शहरहरूमा भारी क्षति, १५ सय घर भत्किए
भूकम्पको सबैभन्दा ठूलो मार ‘कफी उत्पादक क्षेत्र’ भनेर चिनिने परेरा शहरमा परेको छ। केन्द्रविन्दुबाट ५५ किलोमिटर टाढा रहेको यस शहरमा मात्रै ४० जनाको मृत्यु भएको छ भने ६५ वटा भवन पूर्ण रूपमा भत्किएका छन्।
भत्किएका मध्ये कम्तीमा १५ वटा भवनमा मानिसहरू पुरिएको आशङ्का छ। सुरक्षा र उद्धारलाई ध्यानमा राख्दै परेरामा मङ्गलबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ।
त्यस्तै, क्याली सहरमा ३२ वटा भवन भत्किएका छन् भने म्यानिजालेस सहरमा २ जनाको मृत्यु भएको छ। देशैभर गरेर हालसम्म १ हजार ५ सयभन्दा बढी घरमा क्षति पुगेको पुष्टि भएको छ।
राजधानी बोगोटामा भवनहरू चर्किए पनि ठूलो क्षति भएको छैन। परेरा, म्यानिजालेस, क्विब्डोलगायतका क्षेत्रीय विमानस्थलहरूमा क्षति पुग्दा उडान सेवा प्रभावित भएको छ।
‘सबैतिर चिच्याहट र धुलो मात्रै थियो’
भूकम्पको समयमा म्यानिजालेस शहरमा रहेकी एन्जेलिका एभिलाले भनिन्, ‘भूकम्प आउँदा सबैजना चिच्याइरहेका थिए। छिमेकीका घरहरूबाट धुलो उडिरहेको थियो र इँटाहरू खसिरहेका थिए।’
क्याली सहरमा रहेका बेलायती पर्यटक ड्यान कटलरले आफूले जीवनमा यस्तो झट्का कहिल्यै महसुस नगरेको बताए। ‘हामी सुत्दा लगाउने लुगामै बाहिर दौडियौँ’, उनले भने।
नयाँ राष्ट्रपतिको काँधमा ठूलो चुनौती
गत शुक्रबार मात्रै पदभार ग्रहण गरेका नवनियुक्त राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले कार्यभार सम्हालेलगत्तै ठूलो विपत्तिको सामना गर्नुपरेको छ। उनले बजेट रकमान्तर र आपत्कालीन निर्णय गर्न सक्ने विशेष अधिकारसहित ‘राष्ट्रिय विपद्’ घोषणा गरेका छन्।
कोलम्बियाको यो विपत्तिमा अमेरिका, युरोपेली संघ (ईयू) र एल साल्भाडोरलगायतका देशले उद्धार तथा प्राविधिक सहयोगको प्रस्ताव गरेका छन्। ईयूले उद्धारका लागि आफ्नो ‘कोपरनिकस भू–उपग्रह’ प्रयोग गरिरहेको जनाएको छ।
अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) का अनुसार गहिरो भूकम्प सतहको तुलनामा कम खतरनाक भए पनि यसले भवनहरूमा भने ठूलो क्षति पुर्याउन सक्छ।
स्मरण रहोस्, दुई महिनाअघि मात्रै उत्तरी भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ६ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।
साउन २६, २०८३ मंगलबार ०७:३१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।