पूर्वी चीनमा ‘डल्फिन’ आँधीको वितण्डा : १० लाखभन्दा बढी विस्थापित, साङ्घाईमा १४ सय उडान रद्द
एजेन्सी : पूर्वी चीनमा आइतबार साँझ आएको ‘डल्फिन’ नामक शक्तिशाली समुद्री आँधी (टाइफुन) का कारण साङ्घाईसहित आसपासका क्षेत्रबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
आँधीका कारण यस क्षेत्रको यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। चीनको प्रमुख आर्थिक सहर साङ्घाईमा मात्रै १४ सयवटा हवाई उडान रद्द गरिएका छन्।
मौसमविद्हरूका अनुसार, यो आँधी आइतबार साँझ झेजियाङ प्रान्तको युहुआन सहरमा प्रतिघण्टा १५० किलोमिटरको गतिमा ठोक्किएको थियो। त्यसको करिब एक घण्टापछि वेन्झाउ सहरमा आँधीले दोस्रो पटक असर गरेको थियो।
चिनियाँ अधिकारीहरूले सुरुमा डल्फिन आँधीलाई लिएर सबैभन्दा उच्च सतर्कता (रेड अलर्ट) जारी गरेका थिए। तर, सोमबार बिहानसम्म यसको प्रभाव केही कम हुँदै गएपछि यसलाई सामान्य ‘उष्णकटिबंधीय आँधी’ (ट्रोपिकल स्ट्रोम) को तहमा झारिएको छ।
आँधीको वेग केही घटे पनि यो जमिनतर्फ निरन्तर अघि बढिरहेको छ। त्यसैले, अधिकारीहरूले आगामी बुधबारसम्म भारी वर्षा, भीषण बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै सतर्क रहन चेतावनी दिएका छन्।
सोमबार सान्डोङ, हेनान, हुबेई, आन्हुई, जियाङ्सु र झेजियाङ प्रान्तका साथै साङ्घाई सहरमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
स्थानीय सरकारहरूले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन (आउटडोर गतिविधि नगर्न) आग्रह गरेका छन्।
आँधीको जोखिमलाई मध्यनजर गर्दै साङ्घाईस्थित डिज्नील्यान्ड, लेगोल्यान्ड र बन्ड क्षेत्रका दृश्यावलोकन गर्ने ठाउँहरूलगायत प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन्।
साउन २५, २०८३ सोमबार ०८:५९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।