इजरायलद्वारा ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना अस्वीकार, हमास पूर्णरुपमा निशस्त्रीकरण नभएसम्म सेना नफर्किने नेतान्याहुको घोषणा

इजरायलद्वारा ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना अस्वीकार, हमास पूर्णरुपमा निशस्त्रीकरण नभएसम्म सेना नफर्किने नेतान्याहुको घोषणा

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनालाई अस्वीकार गरेका छन्। प्यालेस्टाइनी सशस्त्र समूह हमास पूर्णरुपमा निशस्त्रीकरण नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने उनले स्पष्ट पारेका छन्।  

आइतबार मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले भने, "इजरायलले यो १५ बुँदे दस्तावेजलाई अस्वीकार गर्दछ। हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना पछि हट्ने छैन र हाम्रा सेना तथा नागरिकमाथि हुने खतरालाई रोक्न सैन्य कारबाही जारी रहनेछ।" 

गत महिना अमेरिकी राष्ट्रपति ट्रम्पको 'बोर्ड अफ पिस' (शान्ति बोर्ड) ले गाजामा हमास र अन्य सशस्त्र समूहहरूको 'पूर्ण निशस्त्रीकरण'का लागि सहमति जुटेको दाबी गरेको थियो। 

त्यसको केही समयपछि ट्रम्पले हमास पहिलोपटक हतियार बिसाउन सहमत भएको घोषणा गर्दै यसलाई 'दीर्घकालीन शान्ति र सुरक्षातर्फको ऐतिहासिक कदम' भनेका थिए। तर, हमासले आफ्ना भारी हतियार बुझाउनु अघि इजरायलले गाजामा आफ्ना 'सबै प्रकारका आक्रमण' अन्त्य गर्नुपर्ने र सेना पूर्ण रूपमा फिर्ता लैजानुपर्ने शर्त राखेको थियो।  

आइतबार बिबिसीसँग कुरा गर्दै हमासका एक अधिकारीले समूह अझै पनि सो १५ बुँदे सम्झौताप्रति प्रतिबद्ध रहेको र यसलाई कार्यान्वयन गर्न 'गम्भीर र जिम्मेवार ढङ्गले अगाडि बढ्न तयार' रहेको बताएका छन्। उनले मध्यस्थकर्ताहरूलाई दुवै पक्षले सहमति पालना गराउनेतर्फ पहल गर्न आग्रह गरेका छन्।

नेतन्याहुको यो घोषणालाई गत सेप्टेम्बरमा घोषित ट्रम्पको गाजा शान्ति योजनाका लागि ठूलो धक्काका रूपमा हेरिएको छ।

उक्त योजनामा शान्ति बोर्डको गठन, हमासको निशस्त्रीकरण, गाजाबाट इजरायली सेना फिर्ता गर्ने र गाजाको पुनर्निर्माण गर्ने प्रस्ताव समावेश थियो।

यद्यपि, नेतन्याहुले योजनाप्रति असहमति जनाए पनि उनको निर्णय पूर्ण रूपमा अप्रत्याशित भने नभएको विश्लेषण गरिएको छ। इजरायली प्रधानमन्त्री ट्रम्पको योजनाबाट असन्तुष्ट देखिए पनि अमेरिकासँगको आफ्नो निकट सम्बन्धलाई बिगार्न चाहँदैनन्।

नेतन्याहुले भने, "उनीहरूसँग केही विचारहरू छन्; जसमध्ये केही हाम्रा लागि स्वीकार्य छन् भने केही छैनन्। यस्ता मामिलामा आफ्नो अडानमा कसरी उभिने भन्ने हामीलाई राम्रोसँग थाहा छ।"

इजरायलमा निर्वाचन हुन केही महिना मात्र बाँकी रहेको र नेतन्याहुमाथि आफ्नै दक्षिणपन्थी गठबन्धनका सदस्यहरूबाट गाजाको विषयमा कडा अडान लिन दबाब बढिरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। गाजासम्बन्धी योजनालाई अन्त्य गर्न र यसबारे नयाँ मन्त्रिपरिषद् मतदान गराउन दक्षिणपन्थी गठबन्धनका केही नेताहरूले माग गर्दै आएका छन्। राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले पनि प्रस्तावित योजनालाई 'स्वीकार्य नभएको' बताएका छन्।

डोनाल्ड ट्रम्पका शान्ति योजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएका वरिष्ठ कूटनीतिज्ञ निकोले म्लादेनोभले आइतबार योजनाको बचाउ गर्दै सकारात्मक परिणामका लागि छलफल जारी रहेको बताए।

'बोर्ड अफ पिस'का उच्च प्रतिनिधि म्लादेनोभले इजरायलको च्यानल १२ लाई प्रतिक्रिया दिँदै ७ अक्टोबर २०२३ को जस्तो आक्रमण दोहोरिन नदिन यो योजना नै 'एकमात्र विकल्प' भएको भएको दाबी गरे। उनले यस प्रक्रियालाई एक अवसर दिन इजरायललाई आग्रह गरिएको बताए। उनका अनुसार यो योजना प्रमाणीकरण गर्न सकिने र आवश्यकता अनुसार जुनसुकै चरणमा रोक्न सकिने गरी तयार पारिएको छ। 

हमासले निशस्त्रीकरणका कदमहरू चालिरहेको पुष्टि नभएसम्म इजरायलले सेना फिर्ता गर्नु नपर्ने व्यवस्था योजनामा रहेको म्लादेनोभले स्पष्ट पारे।  

गाजामा अक्टोबरमा प्रारम्भिक युद्धविरामको सहमति भए तापनि इजरायलले लक्षित आक्रमणहरू जारी राखेको छ।  संयुक्त राष्ट्रसङ्घका अनुसार युद्ध सुरु भएयता गाजाको कुल जनसङ्ख्याको ९० प्रतिशत अर्थात् करिब १९ लाख मानिस विस्थापित भइसकेका छन्।

यो युद्ध ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि सुरु भएको थियो, जसमा करिब एक हजार दुई सय जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य अभियान सुरु गरेको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता हालसम्म ७३ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ।  

साउन २५, २०८३ सोमबार ११:४६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।