पहिचान र संस्कृतिको उत्सव : काठमाडौंमा सांस्कृतिक झाँकीसहित मनाइयो विश्व आदिवासी दिवस
काठमाडौं : आज ३२औँ विश्व आदिवासी जनजाति दिवस। विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरूको अधिकार, संस्कृति, भाषा र पहिचानको संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले २३ डिसेम्बर १९९४ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो।
यस दिवसका अवसरमा आज काठमाडौंमा विभिन्न आदिवासी जनजाति संघसंस्थाहरूले सांस्कृतिक कार्यक्रम तथा र्यालीको आयोजना गरे। भृकुटीमण्डपबाट सुरु भएको झाँकीसहितको र्याली भद्रकाली, सहिदगेट, सुन्धारा र न्युरोड गेट हुँदै खुलामञ्च पुगेर औपचारिक सभामा परिणत भएको थियो।

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो, जहाँ कुल जनसङ्ख्याको ३६ प्रतिशतभन्दा बढी आदिवासी जनजाति रहेका छन्। यी समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक छन् ।
यस दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, भाषा, परम्परागत सीप र प्राकृतिक स्रोतमाथिको पहुँच संरक्षणका साथै नीति-निर्माण र निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिइन्छ।



सरकारले आदिवासी जनजातिको उत्थानका लागि विभिन्न नीतिगत व्यवस्था गरे पनि स्वायत्तता र आत्मनिर्णयको अधिकार, मातृभाषाको संरक्षण, पारम्परिक ज्ञान र सीपको कदरका लागि आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने विभिन्न संस्थाले आवाज उठाइरहेका छन्। यद्यपि, अझै पनि धेरै समुदाय सीमान्तकृत अवस्थामा नै छन्। तर, यी प्रयासका बाबजुद अझै पनि धेरै आदिवासी समुदायहरू सीमान्तकृत अवस्थामै जीवन बिताउन बाध्य छन्।



साउन २४, २०८३ आइतबार १८:२८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।