प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच बालुवाटारमा छलफल : तिक्तता मेट्ने प्रयास कि नियमित?

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच बालुवाटारमा छलफल : तिक्तता मेट्ने प्रयास कि नियमित?

काठमाडौं : सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको बढ्दो संशय, दूरी र तिक्तताकाबीच प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता भएको छ।

संसदमा सत्ताधारी दलकै सांसदहरूबाट बढेको सरकारप्रतिको आलोचना, शुक्रवार मध्यरात आएको प्रधानमन्त्री वालेन्द्र शाहको एक्लै लड्नुपर्ने स्टाटस अनि शनिवार दिनभर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबाट भएको त्यसको वादप्रतिवाद बढेपछि प्रधानमन्त्री शाहलाई भेट्न पार्टी सभापति रवि लामिछाने बालुवाटार गए।

रवि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार गएर प्रधानमन्त्री शाहसँग करिव एक घण्टा छलफल गरेर बाहिरिए। दुवै भेटबारे पार्टी वा सरकारका अधिकारीहरूले आधिकारिक रूपमा केही उल्लेख गरेका छैनन्। तर नाम उल्लेख नगर्ने सर्तमा रास्वपाका केही नेताहरूले सरकार र पार्टीको नेतृत्वको सम्बन्धबारे संशय बढेपछि दुबैबीच छलफल भएको पुष्टि गरे।

आवश्यकता अनुसार प्रधानमन्त्री शाह पार्टी सभापति लामिछानेसँग छलफल गर्न उनको बुढानीलकण्ठमा रहेको निजी निवास जाने गरेका थिए। तर रवि भारत भ्रमणबाट फर्किएपछि भने बालुवाटारमा भेट हुन थालेको हो।

रविले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे सरकारी रेकर्डमा रहने गरी प्रधानमन्त्री कार्यालयमै भेट्न चाहँदा प्रारम्भमा आफैँ उनको घर आउने बताए पनि अन्तिममा प्रधानमन्त्री शाहले बालुवाटार बोलाएका थिए। रवि बालुवाटार गएको यो दोस्रो पटक हो।
दुवैको छलफलबारे जानकारस्रोतको दाबी अनुसार पछिल्लो समय संसद् र सडक दुबैतिर सरकारप्रति बढ्दै गएको असन्तुष्टि र पार्टी सांसदहरूले संसदमा गरेको सरकारको आलोचना छलफलको मुख्य विषय थियो।

संसद् र संसद् बाहिर सरकारको आलोचना गर्ने सांसदहरू रवि निकटका रहेकाले वालेन्द्र समूहले यसलाई पार्टी सभापतिसँग जोडेर विश्लेषण गर्ने गरेका छन्। पार्टी सभापति रवि आफू सरकारको पक्षमा देखिने तर पार्टी महामन्त्रीदेखि उनी निकट रहेका सांसदहरू भने सरकारको आलोचनामा सक्रिय हुने गरेकाले सभापतिले दोहोरो भूमिका निभाएको वालेन्द्र समूहका नेताहरूको बुझाइ देखिन्छ।

आइतबारको भेटमा प्रधानमन्त्री शाहले मुख्य रूपमा यही पक्ष उठाएका थिए। पार्टीका सांसदहरू सरकारको सहयोगी हुनुपर्नेमा विपक्षी दलका सांसदहरू भन्दा पनि बढी आलोचनामा सक्रिय रहेको भन्दै शाहले असन्तुष्टि जनाएका थिए।

त्यसमा रविले सांसदहरू दलका भए पनि संसदमा नागरिकको समस्या उठाउनु पर्ने भएकाले पछिल्लो समय देखिएको ग्याँसको अभाव लगायतका विषयमा बोलेको हुनसक्ने भन्दै रविले यसलाई पार्टीसँग नजोड्न आग्रह गरेका थिए।

पार्टीको महाधिवेशन सकिएको एक महिना बढी भए पनि मनोनीत गर्ने महामन्त्री लगायतका पदमा मनोनयन हुन सकेको छैन। यसले गलत सन्देश गएको भन्दै रविले वालेन्द्रसँग उनको समूहबाट मनोनीत गर्नुपर्नेहरुको नाम मागेको रवि निकट एक नेताले बताए।

“मनोनयन पनि दुवैको छलफलको मुख्य विषय थियो। छलफलको मुख्य विषय पार्टीका सांसदहरूबाट भइरहेको सरकारको आलोचना, सुनसरी घटना र ग्याँस अभावपछि सरकारप्रति बढेको असन्तुष्टि, केही मन्त्री र पार्टीका केही नेताहरूको भूमिकाबारे अधिकांश छलफल भएको बुझियो” ती नेताले भने “आफ्नै दलका सांसदहरूको आलोचनापछि प्रधानमन्त्रीले अलि बढी नै चित्त दुखाएको देखियो।”

दुवैको छलफलकाक्रममा के विषयमा दुवै सहमत भए भन्ने खुलेको छैन। केही नेताले यसलाई प्रधानमन्त्री र पार्टी सभापतिको सम्बन्धबारे बढेको संशय हटाउने काम भएको दाबी गरेका छन्। महामन्त्रीसहित मनोनयन गर्नुपर्ने पदहरूमा नियुक्तीबारे समेत छलफल भए पनि यसमा सहमति भएको विषय भने खुलेको देखिएन।

साउन २५, २०८३ सोमबार ००:००:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।