अण्डाको मूल्य बढ्यो : एक्सएल क्रेटको ५६० रुपैयाँ, तर किसान अझै घाटामा

अण्डाको मूल्य बढ्यो : एक्सएल क्रेटको ५६० रुपैयाँ, तर किसान अझै घाटामा

चितवन : बजारमा माग बढेको र उत्पादन घटेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको छ। तर, मूल्य बढे पनि कुखुरापालक किसानले अझै आफ्नो लागत उठाउन सकेका छैनन्।

संघले तय गरेको नयाँ समर्थन मूल्यअनुसार ३० वटा अण्डाको एक क्रेटलाई एक्सएल साइजको ५६० रुपैयाँ, ठूलोको ५४५ रुपैयाँ र मिडियम साइजको ५०० रुपैयाँ तोकिएको छ। त्यसैगरी, सानो अण्डाको मूल्य प्रतिपेटी (सात क्रेटको) ३ हजार रुपैयाँ कायम गरिएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार विगतमा बर्डफ्लु र अन्य रोगका कारण ठूलो सङ्ख्यामा कुखुरा मरेपछि अहिले बजारमा अण्डाको उत्पादन ह्वात्तै घटेको छ। उत्पादन घटेर माग उच्च भएपछि फार्महरूकै रेटका आधारमा नयाँ मूल्य तोकिएको हो।

बढेको मूल्यले पनि उठेन लागत
मूल्य बढे पनि किसानहरू नाफामा भने छैनन्। अध्यक्ष पोखरेलका अनुसार हाल एउटा अण्डा उत्पादन गर्न किसानलाई १९.१२ रुपैयाँ (प्रतिक्रेट ५७३.६ रुपैयाँ) लागत लाग्छ।

तर, बढेको नयाँ मूल्यमा बेच्दा पनि किसानले उच्च गुणस्तर (एक्सएल) को अण्डाबाट प्रतिक्रेट अधिकतम ५६० रुपैयाँ मात्र पाउँछन्। यसको अर्थ, किसान अझै पनि प्रति क्रेट १३ रुपैयाँभन्दा बढी घाटा सहेर अण्डा बेच्न बाध्य छन्।

विगतमा बर्डफ्लुले कुखुरा सखाप पार्नु र बचेका कुखुराको अण्डाले पनि बजारभाउ नपाउँदा किसानहरूले ठूलो नोक्सानी व्यहोर्नु परेको थियो।

निरन्तर घाटा र बैङ्कको ऋणको मार खेप्न नसकेपछि पछिल्लो समय धेरै कुखुरापालक किसान यो पेसाबाटै पलायन हुन थालेका छन्।

साउन २६, २०८३ मंगलबार ०७:५५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।