कोरला नाका जोड्ने घमी खोला पुल सम्पन्न, चीनबाट सामान ढुवानी र उपल्लो मुस्ताङको यात्रा बाह्रैमास सहज
मुस्ताङ : उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका-२ स्थित घमी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ। पुल बनेसँगै जोमसोमदेखि चीनको कोरला नाकासम्मको आवागमन बाह्रै महिना सहज भएको छ।
यसअघि बर्खायाममा खोलामा बाढी आउँदा उपल्लो मुस्ताङ जाने यात्रु र कोरला नाकाबाट सामान बोकेर आएका मालवाहक कन्टेनरहरू हप्तौँसम्म बाटोमै रोकिनुपर्ने बाध्यता थियो।
अब त्यो सास्ती अन्त्य भएको गाउँपालिकाका अध्यक्ष लोबसाङ छोम्पेल विष्टले बताए। हालै एक कार्यक्रमबीच अध्यक्ष विष्टले पुलको उद्घाटन गर्दै निर्माण कम्पनीका प्रतिनिधिलाई खादा लगाएर सम्मानसमेत गरेका छन्।
६ करोड ८० लाख रुपैयाँ लागतमा बनेको यो ४० मिटर लामो पुलको निर्माण अवधि निकै लामो र सङ्घर्षपूर्ण रह्यो।
२०७५ पुस ९ गते ठेक्का सम्झौता भई २०७८ पुसभित्रै सकिनुपर्ने यो पुल निर्माण कम्पनीको ढिलासुस्ती, कठोर भूगोल र प्रतिकूल मौसमका कारण तोकिएको म्यादभन्दा पाँच वर्ष ढिलो गरी सकिएको हो।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार, ठेकेदारलाई दैनिक जरिवाना (हर्जना) तिराउनेदेखि पटक-पटक ताकेता गर्नेसम्मका कारबाही गरिएको थियो।
सार्वजनिक खरिद ऐनको १५औँ संशोधनले म्याद थपमा पारेको सहजता र स्थानीय जनप्रतिनिधिको निरन्तर दबाबपछि बल्ल पुलले पूर्णता पाएको हो।
२०२ किमी सडकमा १५ पुल तयार
आयोजनाका अनुसार पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको २०२ किलोमिटर सडकखण्डमा हालसम्म १५ वटा पक्की पुल निर्माण भइसकेका छन्। गत वर्ष मात्रै कैकु, सेतु र लार्जुङ खोलामा पुल बनेका थिए।
कोरला नाकाको सडकलाई थप व्यवस्थित बनाउन चालु आर्थिक वर्षमा मुस्ताङकै घट्टे खोला र थापा खोलामा पक्की पुल बनाउन बोलपत्र (टेन्डर) आह्वान भइसकेको छ।
यसका साथै, छुसाङदेखि घमीसम्मको सडक कालोपत्र गर्न करिब दुई अर्ब रुपैयाँको बोलपत्रसमेत आह्वान गरिएको आयोजनाले जनाएको छ।
साउन २६, २०८३ मंगलबार ०७:२२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।