घारखोला पावरहाउसमा सुक्खा पहिरो : एक मजदुर बेपत्ता, १४ मेगावाट विद्युत् उत्पादन ठप्प
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह (पावरहाउस) मा आज बिहान सुक्खा पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्।
विद्युत्गृहभन्दा माथिको पहाडबाट खसेको ढुङ्गासहितको सुक्खा पहिरोले पावरहाउस पुर्दा म्याग्दी हाइड्रोपावरद्वारा प्रवर्द्धित १४ मेगावाट क्षमताको यस आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, पहिरोमा पुरिएर अन्नपूर्ण-६ कै ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्। त्यस्तै, कैलालीको गौरीगङ्गा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।
प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार, घाइते विकको उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल (बेनी) पठाइएको छ।
बेपत्ता बरुवालको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको टोली घटनास्थलमा खटिएको छ।
सुक्खा पहिरोका कारण विद्युत्गृहका महत्त्वपूर्ण उपकरणमा गम्भीर क्षति पुगेको आयोजनाले जनाएको छ।
साउन २६, २०८३ मंगलबार ०७:१४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।