निषेधको राजनीति त्याग्न आग्रह गर्दै शशांकले भने : ‘गगनलाई गाली नगर्नुस्’

निषेधको राजनीति त्याग्न आग्रह गर्दै शशांकले भने : ‘गगनलाई गाली नगर्नुस्’

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका सहयात्रीको आलोचना गरेर राजनीतिक कद नबढ्ने भन्दै आन्तरिक एकताका लागि अपिल गरेका छन्।

सोमबार काठमाडौंमा सिन्धु-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित युवा भेलालाई सम्बोधन गर्दै उनले आगामी अधिवेशन सफल बनाउन निषेधको राजनीति त्यागेर सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। 

"अरूलाई कुरूप हेरेर आफू सुन्दर हुँदैन। हामी गगन थापालाई किन गाली गर्छौं? गाली गर्नै पर्दैन," उनले भने, "गाली गर्यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ। त्यसैले किन गाली गर्नुहुन्छ? केही भन्दै नभन्नुस्, त्यो नै सबैभन्दा ठूलो अपमान हो।"

कोइरालाले बीपी कोइराला र कृष्णप्रसाद कोइरालाले लामो संघर्ष गरेर नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि योगदान गरेको स्मरण गरे। आफूलाई पार्टीले संयोजकको जिम्मेवारी दिएपछि अप्ठ्यारो अवस्थामा उभिएको उल्लेख गर्दै उनले सबैलाई समेटेर पार्टी एकताबद्ध गर्नु आफ्नो प्राथमिकता रहेको बताए।

"म एक्लो मान्छे हुँ, तर म के चाहन्छु भने सबैलाई समावेश गरेर पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो," उनले भने, "म एक्लैले केही गर्न सक्दिनँ। तपाईंहरूको सहयोग भयो भने, हातमा हात मिलायो भने धेरै बलियो हुन्छ।"

संघर्षबाट कांग्रेस निखारिएर आएको भन्दै उनले पार्टीको भविष्य युवाको हातमा रहेको बताए। कोइरालाले भने, "आजका युवाहरूले यो पुष्टि गर्छन् कि भोलिको नेपाली कांग्रेस बलियो हुन्छ।" 

साउन २५, २०८३ सोमबार २०:३२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।