आफूविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै संसद्मा ज्ञानेन्द्रको आक्रोश, दोषी ठहरिए राजनीतिबाट सन्न्यास लिने घोषणा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूमाथि चरित्र हत्या गरि लगाइएका आरोपहरू पुष्टि भए सांसद पद र राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका शाहीले आफू विरुद्ध नियोजित रूपमा भ्रामक सूचना फैलाइएकोले संसद्को रोस्टमबाटै अग्निपरीक्षा दिन तयार रहेको बताए। केही समय अघि एक कार्यक्रमको सिलसिलामा जापान पुगेको बेलामा उनले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकहरूप्रति लक्षित गरेर आक्रोश पोखे।
शाही विरुद्ध त्यसपछि सामाजिक सञ्जालमा विभिन्न भ्रमपूर्ण प्रचारबाजी सुरु भयो। मदिरा सेवन गरेर सामाजिक सञ्जालमा लाइभ आएर उनले जथाभाबी बोलेको आरोप लाग्यो। रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गरेर शाहीको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो। सामाजिक सञ्जालमा निरन्तर व्यक्तिगत जीवनदेखि सार्वजनिक जीवनमाथि विभिन्न टीकाटिप्पणी हुन थालेपछि सोमबार उनी प्रतिनिधिसभाको विशेष समय लिएर उक्त विषयमा आफ्ना धारणा राखे।
शाहीले आफूले जन्मदेखि अहिलेसम्म मदिरा सेवन नगरेको दाबी गर्दै स्वास्थ्य परीक्षण गर्न चुनौती दिए। "यही संसद्मा स्वास्थ्य विभाग छ, स्वास्थ्यकर्मी सहितको टोली छ र टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अङ्ग जाँच गरियोस्। मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्," उनले भने, "जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु। म राजीनामा दिन तयार छु।"
उनले आफूमाथि मिथ्या आरोप लगाउनेहरूको पनि स्वास्थ्य परीक्षण हुनुपर्ने माग गरे। सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भनी प्रचार गरिएको भन्दै आपत्ति जनाएका शाहीले उक्त अश्लील भिडियोबारे जाँच गर्न मागसमेत गरे।
उनले भने, "उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट सन्न्यास लिन्छु। यदि त्यो भिडियो मेरो होइन, गलत सूचना गरियो भने प्रहरीले कारबाही किन गर्या छैन? सरकारले त्यस्ता व्यक्तिलाई कारबाही किन गरेको छैन? यसको जवाफ माग्छु म। किनभने प्रहरीलाई हामीले निवेदन दिइसकेका छौँ।"
आफू विरुद्ध प्रचार भइरहेका भ्रामक सामग्रीले परिवार, आफन्त र सामाजिक सम्बन्धमा असर गरेको उनले बताए। शाहीले यस्तो समस्या आफूले मात्र नभई कलाकार, खेलाडी, पत्रकार र व्यवसायीहरूले समेत भोग्न परेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, "भ्रम फैलाउनेलाई कारबाही गरियोस्। प्रहरी सत्ताको मात्रै हो कि यो देशको? यो जवाफ म गृहमन्त्रीसँग माग्न चाहन्छु। किनभने मैले पटक-पटक भन्दासम्म अहिलेसम्म कारबाही गरिएको छैन।"
साउन २५, २०८३ सोमबार १८:२३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।