‘संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधारका लागि समिति बनाऔँ’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले वर्तमान संसदीय अभ्यास 'कर्मकाण्डी' भएको भन्दै यसको सुधारका लागि संसदीय समिति बनाउने प्रस्ताव गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले विद्यमान संसदीय कार्यशैलीले सांसदहरूको क्षमताको सही सदुपयोग गर्न नसकेको बताए।
संसदीय अभ्यासलाई अझ बढी प्रभावकारी र समय सापेक्ष बनाउन आवश्यक रहेको उनको भनाइ छ। २१ औँ शताब्दीको समयमा संसद्लाई सृजनशील, नवीन र उपयोगी बनाउने तिर लाग्नुपर्नेमा उनको जोड थियो।
अहिलेको संसदीय अभ्यासप्रति सांसदहरू स्वयं कति सन्तुष्ट छन् भन्ने विषयमा सदनभित्रै मतदान (पोलिङ) गर्नुपर्ने आचार्यको भनाइ छ। "के हामी सबै सांसद अहिलेको संसदीय अभ्यासबाट खुसी छौं ? के हाम्रो क्षमताले सही दिशा पाएको छ? " भनी प्रश्न गर्दै उनले यदि अधिकांश सांसदहरू वर्तमान अभ्यासप्रति असन्तुष्ट रहेको अवस्था हो भने सुधार गर्न सबै पक्ष मिल्नुपर्ने तर्क गरे।
उनले भने, "संसदीय सुधार समिति बनाएर अहिलेको २१ औँ शताब्दीको समयमा कसरी बढी इनोभेटिक, क्रियटिभ र युटिलिटि बेस बनाउने दिशामा काम गर्न पर्छ जस्तो लाग्छ।"
साउन २५, २०८३ सोमबार १५:२६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।