संसद् बैठकमा श्रव्यदृश्य सामग्रीसहित जनताका समस्या उठाउन पाउने व्यवस्था मिलाउन माग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले संसद् बैठकमा जनताका समस्या प्रभावकारी र तथ्यपरक ढंगले उठाउन श्रव्यदृश्य सामग्रीसहित बोल्न पाउने व्यवस्था मिलाउन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा उनले संसद्को शून्य, आकस्मिक र विशेष समयलाई थप प्रभावकारी र तथ्यपरक बनाउन प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने प्रस्ताव गरे। उनले परम्परागत शब्द-प्रस्तुतिभन्दा श्रव्य दृश्य सामग्री बढी गहन र शक्तिशाली हुने भएकोले संसदीय पद्धतिलाई युगसापेक्ष बनाउनुपर्नेमा बताए।
सदनको शून्य समयलाई थप प्रमाणमुखी बनाउन श्रव्य दृश्य सामग्रीसहित जनाताका मुद्दा उठाउने मोडालिटीमा जानुपर्ने उनको भनाइ थियो। श्रव्य दृश्य सामग्रीसहित शून्य समयमा बोल्न चाहने सांसदका लागि कुल दुई मिनेटको समय उपलब्ध गराउन र एक मिनेट सम्बन्धित क्षेत्रको समस्या झल्किने श्रव्य दृश्य सामग्री प्रस्तुत गर्न दिनुपर्ने उनको तर्क छ।
"शब्दभन्दा श्रव्यदृश्यको भन्दा गहन र शक्तिशाली हुन्छ। संसदीय अभ्यासमा आकस्मिक, शून्य र विशेष समयलाई थप प्रभावकारी बनाउन प्रमाण तथ्य र घटनालाई युग सापेक्ष प्रविधिमैत्री बनाउन जरुरी छ," न्यौपानेले भने, "शून्य समयमा एक एक मिनेटको श्रव्य दृश्य सामाग्री र व्याख्या सहित आउन चाहने सांसदका लागि दुई मिनेट श्रव्य दृश्य समयको व्यवस्था गरियोस्।"
श्रव्य दृश्य सामग्रीसहित संसद्मा आवाज उठाउँदा संसदीय अभ्यास अझ सशक्त हुने उनको भनाइ छ। जनसरोकारका मुद्दालाई प्रत्यक्ष रूपमा सदनमा ल्याउन श्रव्य दृश्य समय व्यवस्था गरिनुपर्ने न्यौपानेको माग छ। बाढी-पहिरोको क्षति, उजाड बस्ती, बाँझो खेतबारी, बाँदर आतङ्क र राजमार्गमा हुने दुर्घटना जस्ता विषयलाई श्रव्य दृश्यसहितका सामाग्री छिट्टै संसद बैठकमा उठाउन पाउने विश्वास व्यक्त गरे।
यस्तै, खानेपानीको हाहाकार, मल र ग्यासको अभाव, गुणस्तरहीन विकास निर्माण तथा मालपोत, नापी र जिल्ला प्रशासन जस्ता सरकारी कार्यालयमा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई प्रमाणसहित प्रस्तुत गर्न पाउनु पर्ने उनको तर्क छ। जनताका पीडा र गुनासोलाई उनीहरूकै आवाज र तस्बिरमा संसद्मा पुर्याउने व्यवस्था गरिनुपर्ने उनले बताए।
साउन २५, २०८३ सोमबार १४:५७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।