प्रधानमन्त्रीलाई सांसद रेनुका काउचाको आग्रह : ‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’

प्रधानमन्त्रीलाई सांसद रेनुका काउचाको आग्रह : ‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’

काठमाडौं : प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति र सरकार सञ्चालनबारे संसद्‌मा उठेका प्रश्नको अनिवार्य जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले राष्ट्रिय हितका कदममा प्रतिपक्ष साथमा उभिन तयार रहेको बताएकी छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद काउचाले संसद्‌मा प्रश्न उठाउनु घेराबन्दी वा असहयोग नभएको स्पष्ट पार्दै, प्रधानमन्त्रीलाई 'कालो चस्मा खोलेर' प्रतिपक्षको रचनात्मक सहयोग स्वीकार गर्न र संविधान एवं संसदीय मर्यादाभित्र रहेर जवाफदेही बन्न आग्रह गरिन्।

संसद्‌ बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै उभिएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद काउचालाई बोल्न समय दिएका थिए।

काउचाले सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत ‘एक्लो महसुस’ भएको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरिन्।  

"प्रधानमन्त्रीलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ," उनले भनिन्, "प्रतिपक्षको तर्फबाट म स्पष्ट भन्न चाहन्छु- कालो चस्मा खोल्नुस् तपाईं एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्ष साथमा छ तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्यमान्यता र संविधान तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्षी मौन बस्न सक्दैन।"

प्रधानमन्त्री सत्ता पक्षको मात्र नभई सम्पूर्ण नेपालीको भएको उल्लेख गर्दै उनले संसद्मा निरन्तर उठिरहेको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिले प्रधानमन्त्रीको कूटनीतिक धारणा, द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विश्वसनीयतामै प्रभाव पारेको बताइन्।

प्रधानमन्त्री आफ्नै मन्त्रिपरिषद्मा एक्लो भएको सङ्केत गर्दै उनले मन्त्रीका सुझाव कत्तिको सुनिन्छ भन्दै प्रश्नसमेत उठाइन्। उनले प्रधानमन्त्री एक्लो नरहेको बताउँदै मुलुकको हितमा अघि बढे प्रतिपक्षले साथ दिने प्रतिबद्धता जनाइन्।

"प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईं अघि बढ्नुहोस्, प्रतिपक्ष तपाईंको साथमा उभिनेछ", उनले भनिन्, " तर संविधानभन्दा माथि कोही छैन, संसदभन्दा ठूलो राजनीतिक मञ्च छैन, राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन, सचिवालयले मात्रै शासन चल्दैन।"

साउन २५, २०८३ सोमबार १४:१०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।