साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु
काठमाडौं : नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले आफ्ना विद्यमान ग्राहकहरूलाई थप सहज र सुरक्षित सेवा प्रदान गर्ने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ।
गुहेश्वरीस्थित साइमेक्स केयरमा आयोजित कार्यक्रमका बीच कम्पनीले यो अभियान देशभरका सबै १३ वटा सर्भिस सेन्टरबाट एकसाथ सञ्चालनमा ल्याइएको हो।
बीवाईडी सवारीधनीहरूको स्वामित्व अनुभवलाई अझ सहज, सुरक्षित, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। आगामी नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु गरिएको यस अभियानअन्तर्गत ग्राहकलाई बिक्रीपछिको सेवा, सवारीको डिजिटल कनेक्टिभिटी र बीमा तथा वारेन्टीसम्बन्धी सुविधा एउटै पहलमार्फत उपलब्ध गराइनेछ। यसका लागि एनसेल, हिमालयन एभरेस्ट इन्स्योरेन्स र शिखर इन्स्योरेन्ससँग सहकार्य गरिएको साइमेक्सले जनाएको छ।
साइमेक्सले ‘केयर प्लस’ अभियानलाई ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीनवटा प्रमुख भागमा विभाजन गरेको छ।
‘केयर प्लस’ अन्तर्गत आधिकारिक सर्भिस नेटवर्कमार्फत सवारीको विस्तृत निरीक्षण, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा प्रमाणित प्राविधिकबाट सर्भिस उपलब्ध गराइनेछ।
‘कनेक्ट प्लस’मार्फत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटीसम्बन्धी सुविधा उपलब्ध हुनेछ। यसका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ।
त्यस्तै, ‘प्रोटेक्ट प्लस’ अन्तर्गत बीमा परामर्श, बीमा नवीकरणमा सहजीकरण, योग्य सवारीसाधनका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा दुर्घटनापछि बीमा दाबी प्रक्रियामा समन्वय गरिनेछ। कम्पनीका अनुसार यसअन्तर्गत १० वर्षसम्मको विस्तारित वारेन्टीसम्बन्धी सुविधा पनि समावेश छ। दुर्घटनाको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा सहजीकरणका लागि शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहयोग गर्नेछन्।
यस अभियानअन्तर्गत योग्य बीवाईडी ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुट पाउनेछन्। ग्राहकले एकपटक निःशुल्क होम चार्जर चेक–अप सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यसअघि बीवाईडी एप कनेक्टिभिटी सुविधा नपाएका योग्य विद्यमान ग्राहकलाई इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा उपलब्ध गराइनेछ।
साइमेक्सका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले गाडी हस्तान्तरणपछि नै ग्राहकको वास्तविक यात्रा सुरु हुने बताउँदै यो अभियानले ग्राहकलाई पूर्ण मानसिक शान्ति दिने विश्वास व्यक्त गरे।
हाल काठमाडौं, ललितपुर, पोखरा, बुटवल, चितवन, विराटनगर, धनगढी लगायत १३ स्थानमा बीवाईडीको सर्भिस नेटवर्क रहेको छ। सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा गरी थप ३ नयाँ सर्भिस सेन्टर विस्तार गर्ने कम्पनीको लक्ष्य छ।
साउन २५, २०८३ सोमबार १२:०७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।