मकवानपुरमा लुकाइराखेको पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ
मकवानपुर : मकवानपुरको बागमती गाउँपालिका-९, बेतिनी अगौटेबाट प्रहरीले एक थान पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय टेकबहादुर सिङतान रहेका छन्।
विशेष सुराकीका आधारमा सोमबार सिङतानको घरमा खानतलासी गर्दा लुकाएर राखिएको अवस्थामा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, घरको माथिल्लो तलामा रहेको जेब्रा झोलाभित्र रातो टी-सर्ट र प्लास्टिकले बेरेर राखिएको अवस्थामा ‘No. ०१७११०’ लेखिएको पेस्तोल र त्यसमा लाग्ने एक थान म्यागजिन फेला परेको थियो।
हतियारसहित पक्राउ परेका सिङतानलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
साउन २५, २०८३ सोमबार ०९:४७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।