आज साउनको अन्तिम सोमबार, झरीको पर्वाह नगरी पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

आज साउनको अन्तिम सोमबार, झरीको पर्वाह नगरी पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं : साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ।

काठमाडौंमा झमझम पानी परिरहे पनि शिवभक्तहरू लाइनमा बसेर श्रद्धापूर्वक मन्दिर प्रवेश गरिरहेका छन्।

पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीका अनुसार, भक्तजनको सहजताका लागि बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खोलिएको छ।

मन्दिरका ढोकाहरू राति ८ बजे आरती सकिएपछि मात्र बन्द हुनेछन्। यद्यपि, विशेष पूजा भने बिहान ८:३० देखि मध्याह्न १२ बजेसम्म मात्र गर्न पाइने व्यवस्था मिलाइएको छ।

मन्दिर प्रवेश गर्न चारैतर्फबाट लाइनको व्यवस्था गरिएको छ। पशुपतिनाथ वरपरका गौशाला, चाबहिल, गुह्येश्वरी लगायतका सबै नाकाबाट भक्तजनहरू आइरहेका छन्।

कोषका अनुसार, गौरीनगरतर्फको लाइन सबैभन्दा लामो छ। यद्यपि, दर्शन व्यवस्थापन चुस्त भएकाले लामो समय लाइनमा बस्नुपर्ने अवस्था छैन।

यसका साथै, साउने सोमबारको अवसरमा बिहानैदेखि सुन्दरीजलबाट पवित्र जल ल्याएर पशुपतिनाथमा चढाउने (बोलबम) भक्तजनको पनि ठूलो आकर्षण देखिएको छ।

लाखौँको सङ्ख्यामा आउने दर्शनार्थीको भीडलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, महानगर प्रहरी र विभिन्न स्वयंसेवकहरू खटिएका छन्।

सवारी आवागमन सहज बनाउन पशुपति क्षेत्र वरपर बाक्लो मात्रामा ट्राफिक प्रहरी परिचालन गरिएको छ।

त्यसैगरी, दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न सङ्घ-संस्थाहरूले मन्दिर परिसरमा प्राथमिक उपचारसहितका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

पशुपतिनाथ मात्र नभई उपत्यकाका अन्य प्रसिद्ध शिवालयहरू गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायतमा पनि बिहानैदेखि शिवभक्तहरूको उल्लेख्य भीड लागेको छ।

साउन २५, २०८३ सोमबार ०७:५२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।