प्रतिनिधिसभा बैठक आज : सञ्चय कोष र बालश्रमसहित महत्त्वपूर्ण विधेयकहरू पेस हुँदै

प्रतिनिधिसभा बैठक आज : सञ्चय कोष र बालश्रमसहित महत्त्वपूर्ण विधेयकहरू पेस हुँदै

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा मन्त्रीहरूसँगको प्रश्नोत्तरका साथै विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार, बैठकको सुरुमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले सोधेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकमाथि विचार गरियोस् अनि नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

आजै संसद्का विभिन्न चारवटा विषयगत समितिका बैठकहरू पनि बस्दैछन्। निर्धारित कार्यसूची अनुसार बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुनेछ भने १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यसैगरी बिहान ११:३० बजे बस्ने  विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनबारे छलफल हुँदा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधिका विषयमा छलफल हुनेछ।

साउन २५, २०८३ सोमबार ०७:२८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।